धरान : मोरङको सुन्दर हरैचामा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा प्रदेश सरकारले तयार गरेको १ सय ३१ बेडको आइसोलेसन बिहीबारदेखि सञ्चालनमा आएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख सागर प्रसाईँका अनुसार बिहीबार पहिलो दिन नै झापा र सुनसरीका १३ जना कोरोना सङ्क्रमितलाई भर्ना गरिएको छ ।  पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनको क्षमता १३१ भनिए पनि १५० बेड क्षमता सम्म सञ्चालन तत्कालै गर्न सकिने बताइएको छ ।

यता धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार ३ जना झापाका कोरोना सङ्क्रमित डिस्चार्ज भएर पनि अझै ९० जना झापा, धनकुटा, सुनसरी, ताप्लेजुङ र पाँचथरका कोरोना सङ्क्रमित उपचारत रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । त्यसै गरी प्रतिष्ठानको आइसोलेसनमा ३ जना आशङ्का गरिएका बिरामी पनि रहेका छन् । १ सय बेड क्षमताको प्रतिष्ठानको आइसोलेसनमा अहिले ९० जना उपचाररत रहेका छन् ।

यसै गरी प्रतिष्ठानको कोरोना परीक्षण गर्ने ल्याबमा अहिले ५ सय थ्रोट स्वाबको नमुना परीक्षणका लागि लाइनमा रहेको बताइएको छ । प्रदेश १ र प्रदेश २ का तराई क्षेत्रमा भारतबाट आउनेहरूको सङ्ख्या दिनानुदिन बढेसङै सङ्क्रमित व्यक्ति पनि थपिरहेका छन् । यसले गर्दा कोरोना परीक्षणको दायरा वृद्धि भएकोले स्वाबको नमुना ल्याबमा क्युमा थुप्रै रहेको बताइएको छ ।