इटहरी : ‘उडायो सपना सबै हुरीले.... गायक मुरली धरको गीतमा भने जस्तै खोला किनारमा बस्ने गरिब सुकुम्वासीको सपना यति बेला बाढीले उडाउन थालेको छ ।

इटहरी ३ सुनौलो टोलका बासिन्दा आकाशमा कालो बादल मडारिएको देख्दा र गड्याङ गुडुङको आवाज सुन्दा बाढीको चिन्ताले सताउन थालेको छ । सोही टोलका विकास नगरकोटी निन्द्रा नपरेको ३ दिन भएको बताउँछन् । अविरल वर्षाले बुढी खोलाको बहाव सँगै उनको मनमा त्रास पनि बढी रहेको छ ।

छोराछोरी र वृद्ध आमालाई बचाउनको लागी उनी रातभर खोला रुँगेर बस्छन् । अघिल्लो वर्ष बाधेको बाध बाढीले भत्काउन थालेपछि उनको मन बेचैन भएको छ । बाढीले गर्दा रातमा निन्द्रा र दिनमा भोक नलाग्ने अवस्था सृजना भएको उनी सुनाउँछन् ।

उनी जस्तै समस्या सुनाउँछन् राजकुमार राई पनि । रात भरी टर्च बालेर खोला हेर्ने गरेको उनको भनाइ छ । बाध भत्किन थालेपछि गाउँका कोही पनि सुत्न नसकेको उनले बताए । घर बनाउने मिस्त्रीको काम गर्ने उनी खोलामा बाढी आए देखी काममा जान समेत सकेका छैनन् । उनी सँगै सोही टोलका १ सय परिवार बाढी र कटानको समस्यामा छन् ।

सुनौलो टोल मात्र हैन वडा नम्बर ४ को गैरी टोल, वडा नम्बर १० को शिवनारायण र बरगाछी टोल, ९ नम्बर वडाको मल्लीक टोलमा पनि त्यस्तै समस्या छ । बस्तीको नजिकै कटान सुरु भएपछि स्थानीय चिन्तित बनेका छन् ।

३ नम्बर वाडको याक्थुङ चौक छेउमा कटान सुरु भएको छ । त्यस्तै खोसार्ने खापामा खेतीयोग्य जमिनमा कटान सुरु भएको छ । ३ दिन देखिको अविरल वर्षाको कारण इटहरीका भित्री गाउँहरूमा कटान र डुबानको समस्या देखिएको हो ।

वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण बिस्टका अनुसार अघिल्लो वर्ष ६० लाख खर्च गरेर सेरा र बुढी खोलामा बाध बाँध्ने काम भएको थियो । २०७४ साउन २८ गतेको बाढीले इटहरीका ६ जना बेपत्ता र सयौँ घर बगाएपछि उपमहानगरले बाधबाध्ने कामलाई तीव्रता दिएको थियो । तर नवनिर्मित बाध भत्किन थालेपछि पुन खोला छेउका बस्तीहरू जोखिममा पर्न थालेका छन् ।

Itahari-Badhi-1 1