धरान : साउनमा प्रायजसो सबै युवती र महिलाको नाडीमा काँचका हरिया चुरा सजिएको रौनक देख्न पाइन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ । । यतिखेर बजारमा हरियो पोशाकमा सजिएर हातमा हरियो र रातो चुराको साथै हातमा विभिन्न डिजाइनको मेहन्दी लगाएर युवती समूहगत रुपमा हिँडेको साँच्ची नै निकै आकर्षक देखिन्छ ।

धरानमा पछिल्लो समय लकडाउन  खुकुलो भएपछि  हरियो चुरा र मेहन्दी लगाउने ‘क्रेज’ बढ्दो छ । साउन लागिसकेको छ । बजारमा हरियो चुरा र मेहन्दी लगाउने बढेको व्यवसायी नै बताउँछन् ।

व्यवसायी निर्मला श्रेष्ठ भन्छिन् ‘लकडान देखि ठप्प रहेको व्यापार साउन लागेपछि मेहन्दी र चुराले गर्दा केही मात्रामा व्यापार बढेको छ । बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का शाखा प्रमुख मानबहादुर विश्वकर्माले धरानमा मेहन्दी र चुरा लगाउने क्रेज बढेको बताउँछन् ।

मेहन्दी र चुरा सबैले लगाउँछन्, कतिले त्यसको अर्थ बुझेर लगाउँछन् त कतिले नबुझीकनै दल्छन् । धरान-५ महेन्द्रपथ बराह ज्वेलरी अगाडि मेहन्दी लगाउँदै गरेकी धरानकी सर्मिला राई भन्छिन्, ‘मैले इच्छा, फेसन र अन्यले देखासिकीमा मेहन्दी दलेको हुँ ।’ यसैगरि धरानकी निर्मला लिम्बू भन्छिन् ‘पहिलादेखि चलिआएको, साउन महिनामै सबैले लगाउँदै आएको र खाली हात नराखौं भनेर मेहन्दी लगाएकी हुँ ।’

मेहन्दी केटा र केटी दुवैले लगाउन मिल्ने मेहन्दी लगाउँदै आएका राजकुमार महतो बताउँछन् । ‘युवती र महिला जिज्ञासु र फेसन गर्न औधी मन पराउने भएकाले उनीहरूले नै बढी लगाउँछन्, पुरुषले खासै चासो दिँदैनन् ।’
नारायण गुप्ताले विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्दै र अविवाहिता युवतीले राम्रो पति पाऊँ भन्दै मेहन्दी र चुरा लगाउने गरेको बताए । एसइई दिएर बसेकी सरस्वती चौधरी मेहन्दी भाँनुचोक छेउमा मेहन्दी लगाउँछिन् । ‘छुट्टीको समयमा पकेट खर्च निकाल्न यो व्यवसाय गरेकी हुँ ।’ उनले भनिन् ।

साउमा नै किन लगाउँछन् मेहन्दी र चुरा ? 

असल जोडीको प्रतिक भनेर शिव र पार्वतीलाई मानिन्छ । साउनमा ब्रत बस्ने, जल चढाउने कार्य गरिन्छ । हरियो रंगको अर्थ मन हराभरा बनाउने, पहेंलो रंगको अर्थ पूजापाठ र शुभकार्यको शुभारम्भको रूपमा लिइन्छ । मेहन्दीको अर्थ भनेको सम्बन्ध गाढा बनाउने भएको व्यवसायी बताउँछन् । अर्थात् सम्बन्ध हेर्ने ऐना भनेकै ती मेहन्दी लगाएका हातहरू हुन् ।

महिलाले साउन महिना भरी अनिवार्य रुपमा हरियो चुरा लगाउने परम्पराकै कारण हरियो चुरा र मेहन्दीको व्यापार थालिएको सरस्वती बताउँछिन् ।लकडाउन खुकुलो भएपछि धरानमा श्रृङ्गार पसलहरुमा हिजोआज हरियो चुरा र मेहेन्दी लगायतका अन्य श्रृङ्गारिक सामानहरुको बिक्रीका लागि सामान राख्नेको होड पनि बढेको छ । साउन महिनामा महिलाहरुको हरियो चुरा र पोशाकप्रतिको आकर्षण देखेर अहिले धरान बजारमा साउन शुरु हुनु पहिलेदेखि नै हरिया चुरा र पहिरनहरु सजाएर राख्ने गरेको पाइन्छ । धरानमा आजभोलि हरियो चुरा र लुगा साउन महिनाको विशेष पोशाक जस्तै बनिसकेको छ । साउन महिनामा हरियो चुरा र पोते लगाउने प्रचलनका विषयमा कुनै तथ्य नभएपनि पछिल्लो समयमा यो एउटा फेसनको रुपमा विकास भइरहेको छ । कलेजमा पढ्ने छात्राहरुले समेत हातभरि मेहेन्दी र नाडीभरि हरियो र पहेलो रङ्गको चुरा लगाउने फेसनको रुपमा विकास भएको छ ।

साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण मानिने गरिन्छ । हरियो रङ्ग प्रेम र वातावरणको प्रतिक मानिन्छ । हरियो बस्त्रलाई प्राकृतिक सम्मानका रुपमा पनि लिन सकिन्छ । त्यसैले साउन महिनाभरि नै हरियो बस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलनलाई प्राकृतिक सम्मानसँग जोडेर हेर्न सकिन्छ । साउन महिनामा हरियो पोते र रातो समिश्रण गरी लगाइन्छ । अझ हत्केलामा जति बढी गाढा मेहेन्दीको रंग बस्यो उति नै श्रीमानको माया पाइन्छ भन्ने विश्वास छ ।
विवाहित महिलाहरु श्रीमानको दीर्घायुको कामना गरी साउन महिनाको प्रत्येक सोमवार ब्रत बस्ने गर्दछन् भने अविवाहितहरू असल श्रीमानको  कामनासहित ब्रत बस्ने अनुभवी महिलाहरु बताउँछन् ।