धरान : विराटनगर महानगरपालिकामा समुदाय स्तरका ६२ जना र नेपाल प्रहरीका २५ जनामा कोरोना सङ्क्रमण भएपछि लकडाउन घोषणा गरिएको छ ।

यस भन्दा अघि केन्द्र सरकारले लगाएको लकडाउनको तुलनामा यो १४ दिने लकडाउन अत्यन्तै कडा पारिएको छ । भारतीय सीमा सँग जोडिएको विराटनगर महानगरपालिकामा अहिले सम्म कुल सङ्क्रमितको सङ्ख्या १ सय ८ पुगेको छ । यसरी दिनानुदिन कोरोना संक्रमित ट्राभल हिस्ट्री भएकाहरू क्वारेनटाइनमा बसेकाहरूमा देखिनुको साटो समुदायकै ट्राभल हिस्ट्री नभएका ६२ जनामा कोरोना सङ्क्रमण देखिएपछि विराटनगरमा कोरोना सङ्क्रमण समुदाय स्तरमै फैलिएको निष्कर्ष निकाली लकडाउन घोषणा गर्नुपरेको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

सरकारले लकडाउन हटाएसङै विराटनगरमा मानिसहरूले विशेष सावधानी नअपनाउँदा र चिकित्सक समेतले लापर्वही गर्दा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलियो । कोसी अस्पताल र विराट नर्सिङ होमका डाक्टर र नर्समा समेत कोरोना पुष्टि भएपछि कोरोना समुदायमै फैलिसकेको निष्कर्ष महानगरपालिकाले निकाल्यो ।

प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत २५ जना प्रहरी र समुदायका ट्राभल हिस्ट्री नभएकाहरूमा कोरोना पुष्टि भएपछि विराटनगर कोरोनाको उच्च जोखिममा परेको भन्दै लकडाउनलाई कडा पारिएको प्रमुख कार्कीले बताएका छन् ।

आज विराटनगर महानगरपालिकामा डा. प्रज्वल खतिवडाको संयोजकत्वमा पिसिआर समिति गठन भएको छ । यो समितिले कनट्र्याक्ट ट्रेसिङ गर्ने, महानगरका विभिन्न जोखिम क्षेत्रहरूको पहिचान गरी सो क्षेत्रका समुदायबाट आशङ्का गरिएका र जोखिममा रहेकाहरूको पहिचान गरी उनीहरूको पिसिआर परीक्षण गरिनेछ । यो समितिले तयार पारेको तथ्याङ्क र समुदायको परीक्षणमा थप संक्रमित भेटिएको खण्डमा समुदायमा कोरोना सङ्क्रमणको अवस्था कस्तो छ ? भन्ने थाहा हुने र त्यही अनुसार लकडाउनलाई कसरी अगाडी लैजाने ? भन्ने बारेमा निर्णय हुने बताइएको छ ।

लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नका लागि विराटनगरका विभिन्न स्थानमा नगर प्रहरी, प्रहरी लगायत सुरक्षाकर्मीले कडाइ गरिरहेका छन् ।