धरान : सुनसरीको देवानगञ्जबाट सुरु भएको धार्मिक विग्रहको कारण पूर्व–पश्चिम राजमार्गका तराई खण्ड प्रभावित भएपछि मदन भण्डारी राजमार्ग हुँदै दैनिक तथा रात्रीकालीन सार्वजनिक सवारी सञ्चालन भइरहेको छ । 
सामाजिक सञ्जालमा दैनिक प्रदर्शन, झडपको खबरले आतङ्कित सर्वसाधारण यात्रामा निस्कन छाडेकाले यात्रु स्वात्तै घटेको यातायात व्यवसायीहरूले बताएका छन् । यात्रु घटेको र असुरक्षाका कारण सार्वजनिक सेवाका सवारीहरूको सङ्ख्या पनि घटेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ,कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठले भने ‘बन्द हुलदङ्गाको हल्लाका कारण अहिले सदा भन्दा २५ प्रतिशत मात्र सवारी सञ्चालनमा छ ।’ 
उनका अनुसार आन्दोलन र असुरक्षाको त्रासका कारण सर्वसाधारण घरबाट बाहिर ननिस्किएकाले सार्वजनिक यातायातको चाप निकै घटेको छ । यात्रु निर्बाध रूपमा यात्रा गर्न थालेपछि आवश्यकता अनुसार थप सवारी सञ्चालनमा ल्याइने उनले बताए । 
देवानगञ्ज घटनापछि प्रशासनले केही क्षेत्रमा कर्फ्यु जारी गरे पनि सिराहा, सप्तरी, जनकपुर लगायत स्थानमा आन्दोलन जारी छ । त्यसको प्रभावले इटहरी, पकली र दुहबी क्षेत्रमा समय–समयमा सडक अवरुद्ध भइरहेको श्रेष्ठले बताए । 
पूर्व–पश्चिम राजमार्गमा प्रभाव परेपछि झापा, विराटनगर र धरान हुँदै काठमाडौँ तथा पश्चिमका जिल्लातर्फ जाने सार्वजनिक सवारी साधनले धरानको भोटेपुल हुँदै मदन भण्डारी राजमार्गलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिरहेका छन् । 
सडकको अवस्थाबारे जानकारी लिएर पश्चिम रुटका सवारी सीमित रूपमा सञ्चालन भइरहेको व्यवसायीहरूले बताएका छन् ।