इटहरी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारको बिषयमा सहमति भएको छ ।एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त रूपमा हस्ताक्षर गरेको यो सहमति अनुसार कोशी प्रदेशको नेतृत्व एमालेले पाउने भएको छ । सहमति अनुसार, कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने नेकपाले सरकारको नेतृत्वको भाग पाउने गरि सहमति भएको हो ।

मधेस र गण्डकी प्रदेशको हकमा सरकार गठन गर्न दुवै दलहरूले प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने बताइएको छ । अन्य दलहरूसँगको छलफल पश्चात् सरकारको नेतृत्व र त्यसमा कुन दलको सहभागिता रहने भन्ने कुराको टुंगो लगाइनेछ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्रीबाट हटाउन एमाले अध्यक्ष केपि शर्मा ओलीले प्रयास गरिरहेका छन्  । नेपाली कांग्रेस सँग ओलीले कार्की नेतृत्वको सरकारले ल्याएको बजेट फेल गराउन प्रस्ताव गरेपनि कांग्रेस नेतृत्वले अस्विकार गरेका थिए ।एमालेकै तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन ओलीले कसरत गरेका थिए । हाल नेकपासँगको सहमतिले कार्कीलाई नेतृत्वबाट हटाउने वा आफ्नो पक्षमा ल्याएर मन्त्री मात्र फेर्ने भन्नेबारे ओलीले निर्णय गर्ने भएका छन् ।