धरान : साउन महिनाको प्रत्येक सोमवार धरान १४ स्थित पिण्डेश्वर मन्दिर बाबाधाममा लाग्ने मेलाको अवसरमा हुने रात्रिकालीन आरती पूजा यसपालि नहुने पिण्डेश्वर बाबाधाम समितिले आज शुक्रवार प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा राति पूजा सञ्चालन गर्दा सुरक्षा जोखिम देखिन सक्ने भएकोले रात्रिकालीन पूजा बन्द गर्नुपरेको दुःखका साथ जानकारी गराउँछौँ ।’
सुनसरीको देवानगञ्जको कप्तानगंजमा भएको धार्मिक तथा सामाजिक असहज परिस्थितिले सबैलाई स्तब्ध पारेको उल्लेख गर्दे, सो घटनाले उत्पन्न परिस्थितिमा गोली लागेर निधन भएका घाइते भएको दुखद घडीमा निधन भएकाहरूप्रति चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति विज्ञप्ति मार्फत समवेदना प्रकट गरिएको छ ।
पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकासकुमार बनेपालीद्वारा जारी विज्ञप्तिमा मुलुकमा विकसित यी र यस्ता घटनाका कारण शान्ति सुव्यवस्थाको अवस्था ठिक नदेखिएकोले यो पटक आयोजना गरिने पिण्डेश्वर मेला राति सञ्चालन गर्दा सुरक्षा जोखिम देखिन सक्ने भएकोले रात्रिकालीन पूजा बन्द गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।





































































