धरान : देशी लाइनको सडक दुई तर्फी खुल्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीले कोशी राजमार्गमा चल्ने सवारी बन्द गर्न खोजेपछि आज बिहीबार साँझ ३ जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा व्यवसायी भूपाल राई र कृष्ण वर्णवाल (मिठु)र स्वहेव अन्सारी रहेको प्रहरीले जनाएको छ ।व्यवसायीहरूले देशीलाइन बजार र सडकको आवागमन बन्द गरेर आन्दोलन गरिरहेका थिए ।
आज बिहीबार आन्दोलन कडा बनाउँदै व्यवसायीहरूले बिहीबार माछा भौडी उत्तर कोशी राजमार्गमा चल्ने यात्रुबस एवंम सवारीहरूलाई सदन स्कुल हुँदै बसपार्क जाने मार्ग अवरुद्ध गर्न खोजेपछि प्रहरीले व्यवसायीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसअघि आन्दोलनकारी व्यवसायीसँग वार्ताको वातावरण बनाउन सुनसरी उद्योग वाणिज्य सङ्घ बिहानै देखी सक्रिय भएको थियो । बिहानै बसेको सङ्घको आपत्कालीन बैठकपछि अध्यक्ष गोपाल श्रेष्ठले बैठक सकिए लगत्तै आन्दोलनरत व्यवसायीलाई छलफलका लागि बोलाएका थिए ।
श्रेष्ठले व्यवसायीको हितलाई केन्द्रमा राखेर समस्या समाधानका लागि उपमहानगरपालिकासँग समन्वय गरी उनीहरूलाई वार्तामा बोलाएका थिए । धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले पनि उद्योग वाणिज्य सङ्घमार्फत आन्दोलनरत व्यवसायीसँग समन्वय भइरहेको र वार्ताका लागि पहल जारी रहेको बताए। तर साँझ सम्म आन्दोलनकारी व्यवसायी तर्फबाट उपमहानगरपालिकामा छलफलका लागि कोही नगएको कावा प्रमुख बेघाले बताए ।
यता आन्दोलनरत व्यवसायीले भने वार्ताका लागि तयार रहेको जनाए पनि वार्ता गर्न उपमहानगरपालिकामा नजाने अडान लिएकाले समस्या वार्ताको टेबुलमा पुग्न नसकेको हो । व्यवसायीहरूले समस्या समाधानका लागि वार्ता आन्दोलन स्थलमै हुनुपर्ने माग राखेका छन् ।































































