इटहरी : कोशी प्रदेश सरकार परिवर्तनबारे सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेस आन्तरिक छलफलमा जुटेका छन् । सोही क्रममा नेपाली काँग्रेसले बिहीबार एमालेसँगको तालमेल तत्कालको लागि सकिएको र आगामी रणनीतिबारे शुक्रवार छलफल गर्ने निर्णय लिएको हो ।
कोशी प्रदेश कार्यालय विराटनगरमा भएको संयन्त्रको बैठकले संसदीय दलका नेता उद्धव थापा र केन्द्रीय प्रतिनिधि तथा प्रदेश सांसद अमृत अर्याललाई बाँकी निर्णयको जिम्मा दिएको छ । कोशी प्रदेश महामन्त्री उमेश थापाका अनुसार एमाले भित्रको आन्तरिक समस्याको कारण कोशी प्रदेशको समीकरणमा अप्ठ्यारोमा परेको हो ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सरकारले पेस गरेको बजेट असफल बनाएर सरकार परिवर्तन गर्ने प्रस्ताव गरेपछि यो अवस्था आएको थापाले बताए । ओलीले काँग्रेस उपसभापति विश्वप्रकाश शर्मासँग हिक्मत नेतृत्वको बजेट असफल बनाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका थिए ।
बिहीबारको बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय नभएको तर काँग्रेसले कानुन व्यवसायी र बुद्धिजीवीहरू सँगको छलफल पछि निर्णय लिने थापाले जानकारी दिए । सुदूरपश्चिमबाट उब्जिएको समस्या उतैबाट समाधान भएर आउने उनको भनाइ छ ।
एमाले सँगकै निरन्तरता हुनसक्ने बताउँदै महामन्त्री थापाले कोसीको अवस्था अन्य प्रदेशभन्दा फरक भएको प्रस्ट पारे । यो नितान्त एमाले भित्रको आन्तरिक द्धन्दको कारण उत्पन्न परिस्थिति भएकाले काँग्रेसले विवेकपूर्ण निर्णय लिने कपुरी न्युजलाई बताए ।







































































