इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार राति भएको गोलिकाण्डले उग्र रूप लिएको छ ।
सोमबार सामाजिक सद्भाव कायम गर्ने सहमति भएपनि मङ्लबार बिहानैदेखि राजमार्ग बन्द भएका छन् । 
मङ्लबार हिन्दु धर्म समर्थित प्रदर्शनकारीले पूर्व पश्चिम राजमार्गको पकली र लौकहिमा राजमार्ग अवरुद्ध गरेका छन् । बिहान ९ बजेदेखि नै प्रदर्शनकारी सडकमा उत्रिएको प्रहरीले जनाएको छ । 
सोमबार सप्तरी र सिराहाका विभिन्न स्थानमा प्रदर्शन भए भने जनकपुरमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै राके जुलुस निकालिएको हो । मङ्लबार बिहान विराटनगरमा समेत प्रदर्शन सुरु भएको छ । प्रदर्शन र विरोधको कारण विद्यालय बन्द भएका छन् । 
आइतबार राती शिव भक्तहरूले डिजे बजाएपछि दुई समूह बिच झडप भएको थियो । डिजे बजाउने र मध्यरातमा होहल्ला नगर्न आग्रह गर्ने दुई समूहको विवाद बढेर मृत्यु सम्म पुगेको हो । 
झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । सोही क्रममा देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।