इटहरी : सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा पनि अनिश्चित कालीन कफ्र्यू आदेश जारी भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालले आदेश जारी गर्दै मङ्गलवार दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन् ।
सुनसरीको देवानगन्जमा दुई समूह बिचको झडमापरी एक युवाको मृत्यु भएपछि देशैभर आन्दोलन चर्किएको छ । सुनसरीका विभिन्न स्थानमा प्रदर्शन र तोडफोड भएका छन् । हिन्दु धर्ममा आस्थावान् युवाहरू सडकमा उत्रिएर तोडफोडमा उत्रिएका हुन् । सेना परिचालन हुँदा समेत सार्वजनिक र निजी सम्पत्ति तोडफोड भएपछि आन्दोलन झनै उग्र बन्ने सङ्केत देखा परेको छ । हिन्दु र मुस्लिम धर्ममा विभाजित भएको आन्दोलनले झनै उग्र रूप लिने देखिएको छ । सेना परिचालन गर्दा समेत नियन्त्रणमा नआएको प्रदर्शन देशका अन्य स्थानमा समेत फैलिँदै गएको छ ।घटनाको विषयमा सरकारले छानबिन समिति गठन गर्नेदेखि जिल्लाका सुरक्षा प्रमुखहरूलाई सरुवा गरिसकेको छ ।
आन्दोलन चर्किँदै गएपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो ।
सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्गको देहायका चार किल्ला तथा इनरुवा बजार क्षेत्र सिमानाभित्र कसैले आवतजावत गर्न नपाइने भएको छ । ‘कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चित कालीन कफ्र्यू आदेश जारी गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ,’ आदेशमा भनिएको छ ।
सूचनाअनुसार पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुल, उत्तर र दक्षिण महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्युको चार किल्ला तोकिएको छ ।
यसअघि घटनापछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिण क्षेत्रका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु उल्लङ्घन गर्दै मङ्गलवार दिनभर प्रदर्शन पनि भएको छ । जिल्ला प्रशासनको सूचना अनुसार देवान गन्ज गाउँपालिका र हरि नगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ । हरि नगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु जारी छ ।
हरि नगरा बजार क्षेत्रमा पूर्वमा नुनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरि नगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्म कफ्र्यू भए पनि आन्दोलनकारी सडकमा उत्रिएका छन् । भुटाहा बजार क्षेत्रमा पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरि नगर गाउँपालिका कार्यालयसम्म कफ्र्यू कायम छ ।
कप्तानगन्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा पाँचौँ सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको छ ।
tanab-grasta 2