इटहरी: सुनसरीको देवानगन्ज गाउँपालिका स्थित कप्तानगन्जको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । विराटनगरको न्युरो अस्पतालमा उपचाररत २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो । 
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जयप्रकाशको पेटमा गोली लागेको र उपचारको क्रममा मृत्यु भएको बताए । उनका अनुसार सोमबार शल्यक्रिया भए पनि अवस्था गम्भीर भएकाले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।  
यसअघि २५ वर्षीय ओमप्रकाश मेहताको घटना लगत्तै आइतबार राती निधन भएको थियो । जयप्रकाश र ओमप्रकाशको शवलाई अझै अस्पतालमै राखिएको छ । 
उक्त घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए । त्यसमध्ये विराट नर्सिङ होममा उपचाररत रवीन्द्रकुमार मेहता  र नोबेलमा उपचार भइरहेका अमित यादवको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ । 
अन्य ६ जनाको न्युरो, विराट र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए । अन्य स्थानीय १८ वर्षीय मिथिलेश मेहता,२२ वर्षीय हरेराम यादव,१८ वर्षीय अमलेश मेहता,२५ वर्षीय सुनिल मेहता,१८ वर्षीय अमित कुमार यादव र २६ वर्षीय सुनिल मेहताको उपचार भइरहेको छ । 
देवानगन्ज घटनापछि मधेस प्रदेश र विराटनगरमा आन्दोलन भइरहेको छ । आन्दोलनकै क्रममा सिराहाको गोलबजारमा थप एक व्यक्तिको गोली लागेर मृत्यु भइसकेको छ ।
बिहीबार दिउँसो भिड नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर १९ वर्षीय गणेश यादवको निधन भएको हो ।