धरान : धरान उपमहानगरपालिका कावा प्रमुख अइन्द्रविक्रम बेघाले आज मङ्गलवार किरात याक्थुङ चुम्लुङ र विजयपुर दरबार परिसर संरक्षण सङ्घर्ष समितिका पदाधिकारीहरुसंग छलफल गरेका छन् । उनले हिजो किरात राई यायोक्खाका पदाधिकारीहरुसंग छलफल गरेका थिए ।
विजयपुर दरबार परिसरको सिरानमा रहेको राई जातिको प्रतीक चिण्डो उखालिएपछि उत्पन्न विवाद समाधानका लागि सरोकारवालाहरुसंग कावा प्रमुख बेघाले छलफल गरेका हुन ।
छलफलमा उनले विजयपुर दरबार साझा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदा भएकाले तथ्य, प्रमाण र इतिहासका आधारमा निष्कर्ष निकालिने बताए । किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा र विजयपुर दरबार संरक्षण सङ्घर्ष समितिले आ–आफ्नो संस्थागत निष्कर्ष तयार गरेपछि संयुक्त बैठकमा साझा निर्णयमा पुगिने उनले बताएका छन् ।
चुम्लुङ एवं सङ्घर्ष समितिका प्रतिनिधिहरूले विजयपुर दरबार परिसर पुरातात्त्विक साझा सम्पदा भएकाले ऐतिहासिक दस्ताबेज र प्रमाणका आधारमा यसको संरक्षण तथा प्रवर्द्धन हुनुपर्ने बताए । उनीहरूले दरबार क्षेत्रको विकासले पर्यटन प्रवर्द्धनसँगै धरानको आर्थिक गतिविधिमा समेत योगदान पुग्ने बताए ।
सङ्घर्ष समितिका वार्ता टोली संयोजक अमित थेबेले चिण्डो उखेलिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफ्नो पक्षको समाधि भत्किँदा प्रहरी प्रशासनले बेवास्ता गरेको तर चिण्डो भत्किएको केही घण्टामै प्रहरी परिचालन भएको भन्दै असन्तुष्टि जनाए ।
उनले विजयपुर दरबार पुरातात्त्विक महत्वको साझा ऐतिहासिक सम्पदा भएकाले यसको संरक्षण ऐतिहासिक तथा पुरातात्त्विक मापदण्ड अनुसार हुनुपर्ने बताए । स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा विस्तृत सूचीकरण, उत्खनन, पुनर्निर्माण तथा संरक्षण प्रक्रिया अघि बढाउनुपर्ने माग गरे ।
छलफलमा संयोजक थेबेले साउन ४ गते भएको वार्तापछि सांसद हर्क साम्पाङ बाट सार्वजनिक रूपमा व्यक्त भएका धारणा तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले एकपक्षीय रूपमा कुरा सुनेर दरबार क्षेत्रको भ्रमण गरेकाले विवाद थप चर्किएको आरोप लगाए ।
वार्तामा सहभागी हुने सबै पक्षले सम्बन्धित कागजात अध्ययन गरेर आउनुपर्ने र पुरातत्त्व विभागका विज्ञहरूको सहभागितामा आधिकारिक वार्ता भए मात्र दीर्घकालीन समाधान सम्भव हुने उनको भनाइ थियो ।
उनले विजयपुर दरबारको विषयलाई अन्य सांस्कृतिक कार्यक्रमसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताउँदै त्यसको विरोध समेत गरे । सामाजिक सञ्जालमा आएका केही अभिव्यक्तिले वार्ताको वातावरण बिगारेको आरोप लगाउँदै सहमतिको आधारमा समाधान खोज्न संरक्षण सङ्घर्ष समिति तयार रहेको बताए ।
संयोजक थेबेले चिण्डो स्थापना गरिएकै कारण विवाद उत्पन्न भएको बताउँदै इतिहास मेटेर कुनै एक समुदायको मात्र इतिहास स्थापित गर्ने प्रयास कहीँ कतै सफल नभएको उदाहरण दिए । किरात यायोख्खा पक्षले चिण्डो पुनः स्थापना नभए वार्तामा नबस्ने अडान लिएको उल्लेख गर्दै पुनः स्थापनाको कुराले समाधानको बाटोमा वार्ता अघि बढ्न नसक्ने उनको भनाई थियो ।
किरात याक्थुङ चुम्लुङ धरान नगर अध्यक्ष तीर्थ मादेम्बाले दरबार क्षेत्र लिम्बुवान सभ्यतासँग जोडिएको ऐतिहासिक स्थल भएकाले यसको अभिलेखीकरण र संरक्षण आवश्यक रहेको बताए ।
उनले अनधिकृत संरचना निर्माण, चिण्डो स्थापना तथा ऐतिहासिक स्थलमा भएको अतिक्रमणप्रति आपत्ति जनाउँदै कानुनी प्रक्रिया मार्फत समाधान खोज्न आग्रह गरे ।
चुम्लुङ नगर सचिव बिप्लप थोक्लेनले विजयपुर दरबारको तथ्य लिखित ईतिहास र ऐतिहासिक दस्ताबेजले बोल्ने बताउँदै भने ‘विज्ञ र प्रज्ञा धेरै बसिरहनु पर्दैन पुस्तक अध्ययन गर्दा हुन्छ ।’ ईतिहास नै साक्षी भएको उनको भनाई छ ।
विजयपुर दरबार क्षेत्रलाई पर्यटकियस्थल बनाउँदै संरक्षणको संरचना विज्ञको एउटा समूह वा संयन्त्र निर्माण गरेर उनीहरूबाट योजना बनाउने सकिने बताए ।
नेपाल आदिवासी जनजाति महासङ्घ धरान नगर समितिका अध्यक्ष हेमराज जिमीले चिण्डो उखालिएको घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी कारबाही गर्न माग गरे । उनले सबै पक्षले ऐतिहासिक प्रमाण र दस्ताबेजका आधारमा खुला बहसबाट निष्कर्ष स्वीकार गर्नुपर्नेमा जोड दिँदै सामाजिक सद्भाव कायम राखेर विवाद समाधान गर्न आग्रह गरे ।