इटहरी : देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा गोलीलागि मृत्यु भएका ओमप्रकाश जयप्रकाश मेहताको परिवार र सरकार बिच सम्झौता भएको छ ।
पीडित परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ प्रदान गर्ने र मृतकलाई शहीद घोषणा गर्ने सहमती भएको हो । 
नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारका बिच भएको सम्झौताको तत्काल नै कार्यान्वयन गरिने भएको छ । यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमति भएको हो । 
प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने पनि सम्झौता पत्रमा उल्लेख छ । सरकारबाट गठित छानबिन समितिको प्रतिवेदनमा समेटिएका सुझाव र सिफारिसहरू कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्ने सहमति पनि भएको बताइएको छ । 
स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सम्झौता पत्रका उल्लेख छ । सम्झौतामा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावकको तर्फबाट हस्ताक्षर गरिएको छ भने गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मृतकहरूको अन्तिम संस्कार शुक्रवार दिउँसो २ बजे गरिने उल्लेख गरिने भएको छ ।
samjhuta