धरान : निकै ढिलो भैसकेको धरान उपमहानगरपालिकाको बजेट अझ ढिलो हुने सम्भावना देखिएको छ । बजेट र नीति तथा कार्यक्रम छलफल गर्न बसेको आज आइतबारको कार्यपालिका बैठक एजेण्डामा प्रवेश नगरीकनै स्थगित भएको छ । 
एजेन्डामा प्रवेश गर्न अघि विविध विषयमा विवाद भएपछि कार्यवाहक प्रमुख अइन्द्रबिक्रम बेघाले बैठक स्थगित गरेका हुन । अब अर्को बैठक भोली सोमबार बिहान ७ बजे पुनः बस्नेछ । 
उपमहानगरपालिकाको आगामी नगर सभामा आर्थिक वर्ष २०८३/०८४ को बजेट पेश गर्ने तयारीका लागि आइतबार बिहान ८ बजेदेखि बोलाइएको नगर कार्यपालिका बैठक विवादका बिच स्थगित भएको हो । 
कार्यवाहक प्रमुख बेघाका अनुसार बैठकमा निर्धारित एजेन्डामा प्रवेश गर्नुअघि नै केही कार्यपालिका सदस्यले विविध विषय उठाउँदै लामो छलफल गर्न खोजेपछि बैठक स्थगित गरिएको हो । बैठकमा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले विभिन्न विषयमा प्रश्न गरेका थिए ।
कार्यपालिका बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि करिब २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव पेश गर्ने तयारी गरिएको थियो ।
बेघाका अनुसार बजेट निर्माणका लागि गठित सीमा निर्धारण समितिमा एमालेका दुई,नेपाली काँग्रेसका एक र कावा प्रमुख र प्रमुख प्रशासकीय गरी ५ सदस्य रहेका छन् । यस्तै पाँचवटा विषयगत समितिमध्ये तीन वटाको संयोजक एमाले र दुई वटाको संयोजक काङ्ग्रेसबाट छन् । बजेटका विषयमा समिति तहमा पटक–पटक छलफल गरिएको उनले बताए।
उनका अनुसार विषयगत समिति,सीमा निर्धारण समिति तथा सर्वदलीय छलफल गरी करिब ३० पटक बैठक बसिसकेको छ।
बैठक स्थगितपछि सञ्चारकर्मीसँग कुरा गर्दै बेघाले भने,‘पटक–पटकको छलफलपछि बसेको कार्यपालिका बैठकलाई तुहाउने योजनाका साथ अवरोध गरियो ।’
कार्यवाहक प्रमुखलाई असफल बनाउनुपर्छ भन्ने उद्देश्यका साथ आफूलाई अवरोध गरिएको उनले बताए । उनले भने ‘योजनाबद्ध रूपमा बैठक अवरुद्ध गरिएकाले बैठक स्थगित गर्न बाध्य भएँ ।’
कार्यपालिका बैठकमा प्रस्तुत हुने विषयवस्तु र प्रश्नहरू गम्भीर, तथ्यमा आधारित तथा सकारात्मक परिणाम दिने खालका हुनुपर्ने उनको भनाई छ । तर त्यसो भइरहेको छैन । 
कार्यपालिकालाई नगरको नीति,योजना र बजेट निर्माण गर्ने महत्त्वपूर्ण निर्णय गर्ने थलो भएकाले छलफल पनि जिम्मेवार र परिणाममुखी हुनुपर्नेमा उनले जोड दिए ।
नगरपालिकाका निर्णय र काम प्रभावकारी बनाउन सबै पक्षले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नगरको समग्र विकासका लागि सामूहिक रूपमा अघि बढ्नुपर्ने उनले वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरूसँग आग्रह गरेका छन् । 
कार्यपालिका बैठक स्थगित भएसँगै नगर सभामा बजेट पेश गर्ने कार्य तालिकामा समेत असर पर्ने देखिएको छ ।