धरान : सामूहिक बलात्कार पीडित बालिकाको परिवारका सदस्यहरूको परिचय खुल्ने गरी भिडिओ खिचेर युट्युब च्यानलमा समाचार बनाएर सामाजिक सञ्जाल फेसबुकमा लिङ्क गर्ने एक युटयुबरलाई बुधवार जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
‘कोशी आवाज’ नामक अनलाइन मिडियाका चन्दनकुमार पासवानलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरीले सामाजिक सञ्जालमा जारी गरेको प्रेस विज्ञप्तिमा आफूलाई सञ्चारकर्मी बनाउने पासवानलाई पीडितको आफन्तको उजुरीको आधारमा पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका युटयुबरले मोरङको सुनवर्सी नगरपालिकामा भएको एक सामूहिक बलात्कारको घट्नामा पीडित बालिकाको परिवारको सदस्यहरूको भिडिओ सामाजिक सञ्जालमा राखेर प्रहरीको अनुसन्धान प्रभावित पार्ने काम गरेको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको पासवानलाई म्याद थप गरी इलाका प्रहरी कार्यालय रँगेलिबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।






























































