धरान : देशीलाइन सडक दुईतर्फी बनाउने व्यवसायीहरूको मागको विषयमा आज शुक्रवार बिहान व्यवसायी–कावा नगर प्रमुख बिचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । 
छलफलमा कावा प्रमुख अइन्द्रबिक्रम बेघाले व्यवसायीहरूको माग धरान उपमहानगरपालिका कार्यपालिका बैठकमा पेश गरेर निर्णय गर्ने प्रस्तावलाई आन्दोलनकारी व्यवसायी पक्षले अस्वीकार गरेपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको हो । 
कार्यवाहक प्रमुख बेघाले उपमहानगरपालिका परिसरमा बोलाएको वार्तामा आन्दोलनकारी व्यवसायीको ३ बुँदे मागमा छलफल भएको थियो । छलफलमा कार्यवाहक प्रमुख बेघाले दुईतर्फी सडक सञ्चालनको प्रस्ताव कार्यपालिका बैठकमा पेश गर्ने र आन्दोलनकारी पक्षबाट २ जना प्रतिनिधि तोक्न आग्रह गरेका थिए ।
तर आन्दोलनकारी व्यवसायी पक्षले भने तत्कालै देशीलाइन सडक दुईतर्फी सञ्चालन गर्नुपर्ने अडान लिए । तत्कालै निर्णय गर्नु पर्न अडान नछाडेपछि सहमति जुट्न नसकी पहिलो पटक बसेको वार्ता विफल भएको छ । 
वार्तामा कार्यवाहक प्रमुख बेघा सहित वडा २ का अध्यक्ष रमेश राई, कार्यपालिका सदस्य सन्ध्या श्रेष्ठ, वडा ३ का सदस्य मिङमा भोटे, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठ, विष्णु बराल, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा प्रहरीका प्रतिनिधिहरू सहभागी थिए ।
यसअघि देशीलाइन सडक दुईतर्फी सञ्चालनको माग गर्दै व्यवसायीहरूले बुधवार देखी पसल बन्द गरी आन्दोलनमा छन् । आन्दोलनको क्रममा कोशी राजमार्गमा सवारी साधन रोक्ने प्रयास गरेपछि प्रहरीले बिहीबार साँझ तीन जना व्यवसायीलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई सोही रात रिहा गरिएको थियो ।