धरान : विजयपुर दरबार परिसरको विवादित चिण्डो सोमबार बिहान अज्ञात व्यक्ति/समूहले उखालेर फ्याँकिएको अवस्थामा भेटिएपछि उत्पन्न विवाद मिलाउन धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले अग्रसर भएका छन् ।
उनले सोमवार सरोकारवाला किरात राई यायोख्खा सँग छलफल गरेर वार्ता प्रक्रिया अघि बढाएका हुन । किरात याक्थुङ चुम्लुङसँग पनि छुट्टै छलफल गरी दुई पक्ष बिच संवाद प्रक्रिया अघि बढाइने उनले बताए ।
यस अघि घट्ना लगत्तै सुनसरी १ का निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको मध्यस्थतामा किरात राई यायोख्खा र विजयपुर दरबार परिसर संरक्षण सङ्घर्ष समिति बिच साउन ३ गते पहिलो पटक वार्ता भएको थियो ।
कावा प्रमुख बेघाले सुरु गरेको वार्ता संवादको पहल उक्त पहिलो वार्ताको निरन्तरता हो होइन अधिकारीक रूपमा केही जानकारी उपमहानगरपालिकाले सार्वजनिक गरेको छैन ।
यसबिच पहिलो वार्ता निष्कर्ष विहीन टुङ्गिए लगत्तै धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख तिलक राईले सामाजिक सञ्जाल मार्फत वर्तमान नगर प्रमुखबाट वार्ताको मध्यस्थता गरिनु पर्ने धारण सार्वजनिक गरेका थिए ।
कार्यवाहक प्रमुख बेघाले आजदेखी सुरु गरेका वार्ताको पहल पछिल्ला आग्रह अनुसार सुरु गरिएको हो होइन त्यो पनि खुलाएनन् ।
उनका अनुसार सोमवार किरात राई यायोक्खासंग भएको छलफलमा बेघाले कुनै पनि विषयलाई व्यक्तिगत पूर्वाग्रही आधारमा नभई समुदायको साझा भावनाको विन्दुमा पुगेर समाधान गरिनुपर्ने बताएका छन् ।
वार्ताको पहलबारे उनले भने,‘हामी निःशर्त संवादका पक्षमा छौँ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा र विजयपुर दरबार संरक्षण सङ्घर्ष समितिले आ-आफ्नो संस्थागत छलफलबाट निकालेका निष्कर्षलाई एकीकृत गरी सामूहिक बैठकबाट साझा निर्णयमा पुग्नेछौँ ।’
प्रत्येक चरणको छलफलमा नेपाल आदिवासी जनजाति महासङ्घको आधिकारिक सहभागिता अनिवार्य रहने उनले बताए । महासङ्घको समन्वयमा संस्थागत निष्कर्ष आएपछि मात्र सबै पक्षबिच औपचारिक वार्ता गरी विवाद समाधानको प्रक्रिया अघि बढाइने उनको भनाई छ । उनले मंगलबार किराँत याक्थुङ चुम्लुङलाई छलफलका लागि बोलाइने बताएका छन् ।
घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै बेघाले सत्य तथ्य सार्वजनिक गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । धरान उपमहानगरपालिकाले गर्ने संवाद व्यक्ति विशेषको धारणा नभई सम्बन्धित समुदाय र संस्थाहरूको सामूहिक निष्कर्षमा आधारित हुने उनको भनाई छ ।
धरान उपमहानगरपालिका नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा अघि बढ्ने निष्कर्षले समस्या समाधान गर्ने विश्वास व्यक्त गर्दै उनले भने ‘त्यो समाधान प्रक्रियालाई भविष्यका लागि ऐतिहासिक अभिलेखका रूपमा समेत दस्तावेजीकरण गरिने छ ।’
किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले चिण्डो पहिले रहेको स्थानमै यथास्थितिमा नराखिए सम्म यायोक्खा कुनै पनि वार्ता वा छलफलमा सहभागी नहुने बताए ।
उनले भने, ‘हाम्रो आस्थाको धरोहर र प्रतीक ढालिनु भनेको हाम्रो शिर ढल्नुजस्तै हो, चिण्डो जहाँ जसरी थियो,त्यही अवस्थामा पुनःस्थापना नभएसम्म हामी वार्तामा बस्दैनौँ ।’ उनले केही व्यक्तिले राजनीतिक स्वार्थका लागि आन्दोलनलाई उक्साएको आरोप लगाउँदै घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न सिन माग गरे ।
नेपाल आदिवासी जनजाति महासङ्घ धरान नगर समितिका अध्यक्ष हेमराज जिमीले कार्यवाहक प्रमुख बेघाको अध्यक्षतामा चारै किराँत समुदायलाई एकै स्थानमा राखेर तत्काल संवाद अघि बढाउन आग्रह गरे । उनले विवादको दीर्घकालीन समाधान संवाद र सहमतिबाट मात्रै सम्भव हुने बताए ।








































































