इटहरी : सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्ड रहस्यमय भएको आधिकारिक निकायले आशङ्का गरिरहेका छन् । आइतबार राती दुई समूह बिचको झडप गोलीकाण्ड सम्म पुगेपछि एकको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् ।
मध्यरातमा डिजे बजाउने समूह र बजाउन रोक्ने दुई समूह बिचको विवादले उग्ररूप लिएपछि घटना असामान्य बनेको थियो । प्रहरी निरीक्षक प्रकाशकुमार श्रेष्ठ नेतृत्वको टोली परिचालन गरेर विवाद मिलाउने प्रयास भएपनि असम्भव भयो । दुई समूह बिचको झडपमा परि प्रहरी निरीक्षक श्रेष्ठ घाइते भए । श्रेष्ठलाई उपचारमा पठाएपछि सशस्त्र प्रहरीको सहायताले झडप नियन्त्रणमा लिने कोसिस भएको थियो ।
घटनाले उग्र रूप लिएपछि सशस्त्र र नेपाल प्रहरी दुवैको तर्फबाट हवाई फायर भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हवाई फायर गरिएको र कसैलाई गोली हान्ने नियत राखिएको थिएन । प्रहरी एकदमै संवेदनशील हिसाबमा खटिएको बेला प्रहरीमाथि नै आक्रमण भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र बहादुर खड्काले बताए । घटनाकै क्रममा घाइतेको उद्धार तथा भिड नियन्त्रणमा प्रहरीले संवेदनशीलता अपनाएको उनको भनाइ छ ।
सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल बोलाइयो । छलफल पछि प्रतिक्रिया दिएका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले हवाई फायर कसरी पेटमा छिर्यो भनेर आफूहरू चकित भएको बताए । सुरक्षा निकायहरूको गम्भीर छलफलमा हवाई फायर बाहेक कुनै गोली नहानिएको प्रस्ट भएको प्रस्ट पारे । यस विषयमा गम्भीरताका साथ मृतकलाई लागेको गोलीको अनुसन्धान गरेर मात्र थप भन्न सकिने उनको भनाइ छ ।
गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहताको हत्या भएको भन्दै स्थानीयले विरोध जनाइरहेका छन् । स्थानीय प्रदर्शनकारीले धर्मको प्रवेश गराएपछि लिएपछि घटनाले उग्र रूप लिने देखिएको छ । सुनसरीको घटनाको विषयमा सिराहा, सप्तरी देखि विराटनगर सम्म आन्दोलन चर्किएको छ ।
आन्दोलनकारीले प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे विरुद्ध नाराबाजी गरिरहेका छन् । अर्कातर्फ गृह मन्त्रालयले छानबिन समिति गठन गरेर घटना मिलाउने प्रयास गरेको छ । दिउँसो बसेको सर्वपक्षीय भेलाले सामाजिक एकता कायम गर्ने सहमति गरेको छ । सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेको हो । 
यसैबिच गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ।
उता मानवअधिकार आयोगले समेत ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले प्रारम्भिक अनुगमन गरिरहेको जानकारी गराए । प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयहरूसँग घटनाबारे जानकारी लिइएको पोखरेलले बताएका छन् ।