धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेपाल चिकित्सक सङ्घले वीरगञ्जमा भएको चिकित्सक आक्रमणको विरोधमा आज मङ्गलवार बिपी अस्पतालको आकस्मिक बाहेक सबै स्वास्थ्य उपचार सेवा बन्द गरेको छ ।
 वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मीमा आक्रमण र प्रहरी दुर्व्यवहार भएको विरोधमा देशभरका अस्पताल, स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मीहरूले इमर्जेन्सी बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने घोषणा गरेको हो । 
संघव्दारा जारी प्रेस विज्ञप्तिमा डा प्रमोद राम सहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ पहिलो संशोधन २०७९ बमोजिम कडा कारबाही गर्न माग गरेको छ । 
नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा सेवा दिने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गर्दै आन्दोलनका कार्यक्रमअन्तर्गत मङ्गलवार देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहने जनाएको छ । सङ्घले यस अवधिमा आकस्मिक सेवा भने नियमित सञ्चालन हुने जनाएको छ