धरान : अहिलेको भन्दा साँघुरो सडक हुँदा पनि दुई तर्फी सवारी चलिरहेको देशी लाइन बजारको सडक ५० फिट फराकिलो बनेपछि एक तर्फी बनाएकोले व्यवसायीहरू पलायन हुने अवस्था आएको उनीहरूले बताएका छन् ।
देशीलाइन सडकमा दुईतर्फी बनाउने माग गर्दै आन्दोलित व्यवसायीहरूले बुधवार भानुचोकमा कोणसभा गरी व्यवसायीसँग छलफल नगरी मोटरसाइकललाई मात्र दुईतर्फी बाटो खोल्ने निर्णयको विरोध गर्दै सबै सवारीका लागि दुईतर्फी गर्न माग गरे ।
पूर्व वडाअध्यक्ष सुरेन राईले भने ‘फराकिलो बनाइएको ५० फिट चौडा सडकलाई एकतर्फी बनाउनुको कुनै औचित्य छैन ।’ पूर्व नगरप्रमुख हर्क साम्पाङको कार्यकालमा साँघुरो सडक फराकिलो बनाए पनि दुई तर्फी चलिरहेका बाटोलाई एकतर्फी बनाएर व्यापार व्यवसायलाई प्रभावित गरेको उनको भनाई थियो ।
देशीलाइन एकतर्फी बनाउँदा वडाअध्यक्ष रमेश राई समेतको एकल निर्णय, समन्वयको अभाव र बेवास्ताका कारण व्यवसाय विस्थापित भई व्यवसायीहरू पलायन हुने अवस्था आएको उनले बताए । उनले भने ‘व्यवसायीहरुमाथी प्रहरी दमन गरिनुको सट्टा संवादबाट समाधान खोज्न जरुरी छ ।’
भानुचोक व्यवसायी समितिका अध्यक्ष गङ्गा राईले व्यापार व्यवसाय प्रभावित भएका पीडित व्यवसायीलाई बल प्रयोग चुप लगाउन खोज्नु गलत भएको बताउँदै जायज माग सम्बोधन गर्न स्थानीय सरकार धरान उपमहानगरपालिका सँग आग्रह गरे ।
व्यवसायीहरूले उनीहरूसँग छलफल नगरी मोटरसाइकललाई मात्र दुईतर्फी बाटो खोल्ने निर्णय गरिएको प्रति असन्तुष्टि जनाउँदै वडा अध्यक्षलाई व्यवसायीहरूले प्रश्न गर्दा शासकको जस्तो व्यवहारले प्रस्तुत गरेको आरोप लगाए ।
एक तर्फी सवारी चलिरहेको देशीलाईनमा बुधवार बिहान वडा अध्यक्ष,ट्राफिक प्रहरी, नेपाल प्रहरी तथा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिबिच मोटरसाइकललाई मात्र दुईतर्फी सञ्चालन गर्ने निर्णय भएको थियो ।
व्यवसायीहरूले छलफलमा आफूहरूलाई सहभागी नगरिएको विषयमा प्रश्न उठाउँदा वडाध्यक्षको व्यवहार र बोलीले व्यवसायीहरू रुष्ट भई आन्दोलन गर्नुपरेको बताए । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी धरपकड समेत गरेको आरोप उनीहरूले लगाएका छन् ।
व्यवसायीहरूको मागप्रति कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघालेपनि संवादको वातावरण नबनाएको उनीहरूको भनाई छ । उनीहरूको मागको सुनुवाइ नभए आन्दोलनको स्वरूप परिवर्तन गर्दे आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिएका छन् ।