धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कम्प्युटर इन्जिनियर राकेशकुमार दासको शैक्षिक प्रमाणपत्रहरू नक्कली रहेको पुष्टि भएपछि उनी विरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरिएको छ ।
प्रतिष्ठानका प्रवक्ता सुरेश न्यौपानेद्वारा शुक्रवार जारी विज्ञप्ति अनुसार दासले बिपीमा कम्प्युटर इन्जिनियर पदमा नियुक्ति लिँदा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाको इन्टरमिडियट, श्री वेंकलठेश्वरा युनिभर्सिटी, तिरुपतिको व्याचलर अफ इन्जिनियरिङ (कम्प्युटर साइन्स)को प्रमाणपत्र पेश गरेको जनाइएको छ । 
उनी विरुद्ध नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको उजुरी परेपछि अनुसन्धान हुँदा उक्त शैक्षिक प्रमाणपत्र झुट्टा भएको पुष्टि भएको जनाइएको छ । झुट्टा शैक्षिक प्रमाणपत्रको आधारमा कम्प्युटर इन्जिनियर पदमा नियुक्ति लिई उनले ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरेको देखिएकोले राकेशले भ्रष्टाचार गरेको देखिएको हो । 
दास विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९१६० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवाना सजाय हुन माग दाबी लिई विशेष अदालत, काठमाण्डौंमा मुद्दा दायर गरिएको जनाइएको छ ।