धरान : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मस्र्याङ्दी गाउँपालिकाले पालिकाभर आज सार्वजनिक बिदा दिएको छ । घिमिरेको निधन मंगलबार साँझ ५ बजे र ५५ मिनेटमा आफ्नै निवास लैनचारमा निधन भएको हो । १ सय १ वर्षको उमेरमा उनको निधन भएको हो ।

घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । आफ्नो गाउँपालिकामा जन्मिनुभएका र जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ । आज बिहान बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय, वडा कार्यालय, आकस्मिक सेवा बाहेकका स्वास्थ्यचौकी बाहेक सबैमा सार्वजनिक बिदा दिएको हो ।

सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले निवासमा पुगेर घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि भएको छ ।आफन्त, साहित्यकारहरु, शुभचिन्तकहरुसहित सीमित मलामीको उपस्थितिमा राष्ट्रकवि घिमिरेको अन्त्येष्टि भएको हो । उनलाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।