इस्लामावाद : पाकिस्तान सरकारले औद्योगिक प्रयोजनकालागी गाँजा खेती तथा उत्पादन गर्नलाई अनुमती दिएको छ ।

पाकिस्तानको मन्त्रीपरिषद्ले मंगलवार गाँजा र भाङको औषधिय र औद्योगिक रुपमा उत्पादन र विक्री वितरणको लागि मञ्जुरी दिएको हो ।

यो निर्णयले पाकिस्तानलाई अर्बौ डलरको क्यानिबिडियोल (सीबीडी) बजारमा प्रवेशको बाटो खुलेको त्यहाँका विज्ञान तथा प्रविधिमन्त्री फवाद चौधरीले एक ट्विटमा भनेका छन् ।

विभिन्न सरकारी विभागहरुबीच व्यापक छलफल र विचार विमर्शपछि सरकारले यस्तो निर्णय गरेको हो । सीबीडी उत्पादनका लागि विशिष्ठ प्रकारका गाँजाका बिउ आयात गर्ने योजना सरकारको छ ।

आफूहरुसामु गाँजा खेती गरेर यसबाट तेल उत्पादन गरी निर्यात गर्ने वा यसको तेलबाट बहुमूल्य सामान बनाएर ती सामान निर्यात गर्ने २ विकल्प रहेको अन्तरराष्ट्रिय रसायनिक तथा जैविक विज्ञान केन्द्र (आईसीसीबीएस) का निर्देशक डा इकबाल चौधरीले बताए ।

गाँजा खेतीबाट आगामी तीन वर्षभित्र करीब १ अर्ब डलर आर्जन गर्न सकिने बताइएको छ ।

गाँजाको दानाबाट तेल उत्पादन गरिन्छ, पात औषधी बनाउन प्रयोग हुन्छ भने डाँठबाट फाइबर निकालिन्छ । पछिल्लो समय टेक्सटाइल उद्योगमा कपासको सट्टा गाँजाको डाँठबाट तयार पारिएको फाइबर प्रयोग गर्ने क्रम बढेको छ ।

गाँजा खेती सरकारी निगरानीमा हुने र यसबारे भविष्यमा थप अनुसन्धान गर्नुको साथै छुट्टै मन्त्रालय स्थापना गरेर पर्याप्त सुरक्षाको व्यवस्था गर्ने योजना समेत ल्याइएको छ । एजेन्सी