धरान : धरान आफैमा साङ्गीतिक उर्वर भूमिको रूपमा पहिलेदेखि नै परिचित छ । धरानमा पहिलेदेखि नै प्रोफेसनल रूपमा होस या शौखको रूपमा होस धेरैजसो युवाहरू सङ्गीतमा लागेका नै हुन्छन् र त्यसमा कोही सफल पनि भएका छन् र कोही असफल त कोही आफ्नै घरायसी कामकाजमा फसेर चाहेर पनि निरन्तरता दिन सकिरहेका हुँदैनन् । यस्तै धरानका एक पुराना गायक हुन रोहित मास्के । उनले करिब अढाई दशकपछि आफ्नो नयाँ गीत “प्रिय तिमीलाई” म्युजिक भिडियो सहित भर्खरै मात्र रिलिज गरेका छन् ।

२०४९ सालताका 'निश्चल' नामक साङ्गीतिक एल्बम बजारमा ल्याएका गायक रोहित मास्केको 'टेक्सी टेक्सी', 'मेरी मायालु' बोलका गीतहरू त्यस बेला केही गीतहरू रुचाइएका थिए र उक्त एल्बममा उनले त्यस बेला नाम चलेका चर्चित गायिकाहरू सुक्मित गुरुङ, सपनाश्री परियार र भगवती तुम्बाहाम्फे सँगै युगल गीतहरू समेत गाएका थिए ।

धरानको विभिन्न साङ्गीतिक कार्यक्रममा आफूलाई अब्बल साबित गरेर अगाडी बढाए पनि एल्बम निकालेको केही समयपछि नै उनले हङकङलाई आफ्नो कर्मथलो बनाएका थिए जसले गर्दा त्यसपछि भने उनी उतै भुलिए । उता हुँदा पनि यदाकदा फुर्सदको केही समय सङ्गीतमा रमाउने मौका पाएका रोहितले केही गीतहरू रेकर्ड गराए भने उतै निर्मित 'चुकेको चुरा' नामक चलचित्रमा सङ्गीत तथा स्वर समेत दिएका छन् ।

हङकङमा हुने साङ्गीतिक कार्यक्रममा पनि उनी छुट्दैन थिए । केही वर्ष अघि मात्र उनी आफ्नै जन्मथलो धरान नै बस्ने गरी फर्किएका छन् । धरान आएपछि भने उनले आफ्नो काम सँगसँगै आफ्नो साङ्गीतिक सोख पनि पुरा गरिरहेका छन् । धरानमा हुने विभिन्न साङ्गीतिक कन्सर्टहरूमा झुल्किरहने गायक रोहित मास्केले कोरोना महामारीमा लकडाउनको सदुपयोग गर्दै धरानका अन्य सङ्गीतकर्मीहरू सञ्जीव लामा, हेम सुब्बा र मनोज मोतेको सहयोगमा 'हामी बाँचौ' बोलको सन्देशमूलक गीत निकाले ।

उक्त गीतको राम्रो प्रतिक्रियाले हौसिएका गायक रोहितले पहिलो लकडाउनमा सङ्गीत दिवस, मलाई धेरै धेरै माया लगायतका गीतहरू पनि निकाले । अहिले भने उनले सञ्जीव लामाको शब्द, सङ्गीत र निर्देशनमा प्रिय तिमीलाई यो जुनी भरि बोलको गीत भिडियो सहित आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका छन् ।

प्रशान्त तामाङले छायाङ्कन तथा सम्पादन गरेको गीतको भिडिओमा लाजु श्रेष्ठको अभिनय रहेको छ ।
धरानको धरान सङ्गीत प्रतिष्ठानमा समेत कोषाध्यक्षको रूपमा आबद्ध रहेका मास्के अब भने पहिले देखि साँचेका र केही नयाँ गीतहरू तुरुन्तै रेकर्ड गर्नका लागि लागिपरेका बताउछन् ।