धरान : धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले बसपार्क सरेपछि भानुचोकलाई समय अनुसार नयाँ चहल पहल बढाउने नाइट मार्केट सञ्चालन गर्ने योजना बनिरहेको बताएका छन् ।
रात्री बजारले धरान केवल व्यापारिक केन्द्र मात्र नभई धरान बहु जातीय र बहु सांस्कृतिक पहिचान भएको सांस्कृतिक केन्द्र पनि भएको शहरको रूपमा विकास गर्ने योजना सार्वजनिक उनले हुन ।
भानुचौक स्थित बसपार्क शुक्रबारदेखि धरान–८ स्थित नयाँ बसपार्कमा सरेको छ । बसपार्कको भौतिक संरचनचनाहरु टिकट काउन्टर समेत स्थानान्तरण भएपछि खाली भएको भानुचोक क्षेत्रलाई व्यवस्थित गर्दै सांस्कृतिक तथा पर्यटकीय गन्तव्य बनाइने उनले बताए ।
बेघाले कपुरीसँग भने ‘भानुचोकमा स्थायी प्रकृतिको खुला स्टेज निर्माण गरिनेछ,जहाँ हरेक साँझ धरानका विभिन्न जातजाति, भाषा र संस्कृतिको प्रतिनिधित्व गर्ने साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ ।’
उनका अनुसार धरान विभिन्न जनजातिका भाषा र संस्कृतिको सङ्गम हो । भानुचोकमा स्थायी स्टेज बनाएर हरेक दिन सांस्कृतिक गतिविधि सञ्चालन गर्ने वातावरण बनाउने योजना छ ।
साँझपख सुनसान बन्दै गएको भानुचोक क्षेत्रलाई पुनः चलायमान बनाउन नाइट मार्केट सञ्चालन गर्ने योजना पनि अघि सारिएको उनले बताए । नाइट मार्केट सञ्चालनले स्थानीय व्यवसाय, पर्यटन तथा आर्थिक गतिविधिलाई थप टेवा पुग्ने उनको भनाई छ ।
कार्यवाहक प्रमुख बेघाले चालु आर्थिक वर्षमा भानुचोक व्यवस्थापनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि उक्त रकम पर्याप्त नहुने बताए । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा थप रकम व्यवस्था गरी भानुचोक क्षेत्रलाई योजनाबद्ध रूपमा विकास गरिने उनले जानकारी दिए। उनले भने ‘यस वर्ष छुटाइएको १ करोड रुपैयाँले मात्र पुग्दैन, आगामी बजेटमा थप रकम विनियोजन गरेर भानुचोक क्षेत्रलाई व्यवस्थित बनाउँछौँ ।’ त्यसका लागि आवश्यक कार्यविधि पनि तयार गरिने उनले बताए ।
उपमहानगरपालिकाको योजना महाशाखाका प्रमुख सुरज श्रेष्ठले भानुचोक क्षेत्र करिब १५ कट्ठा क्षेत्रफलमा फैलिएको बताए । त्यसमध्ये सार्वजनिक शौचालय रहेको क्षेत्र ४ कट्ठा ११ धुर, पुतली लाइनतर्फको पूर्व नाइट बसपार्क क्षेत्र ५ कट्ठा ३ धुर र ट्याक्सी स्ट्यान्ड रहेको क्षेत्र करिब ५ कट्ठा रहेको उनले बताए।
श्रेष्ठका अनुसार कार्यवाहक प्रमुखको निर्देशनपछि उक्त क्षेत्रको विस्तृत कस्ट इस्टिमेट तयार गर्ने काम भइरहेको छ। प्रारम्भिक रूपमा करिब १ करोड १० लाख रुपैयाँ बराबरको लागत अनुमान तयार पारिएको उनले जानकारी दिए।
भानुचोक क्षेत्रको विकासका लागि यसअघि पनि योजना अघि सारिएको थियो। तत्कालीन मेयर मनोज मेन्याङ्बोको कार्यकालमा त्यहाँ सपिङ मल निर्माण गर्ने अवधारणा अघि बढाइएको थियो। सोही योजनाअन्तर्गत त्यहाँ सञ्चालन हुँदै आएको फेन्सी बजार अन्यत्र सारिएको थियो। तर निर्माण जिम्मा लिएको कम्पनी नक्कली भएको विवादपछि सपिङ मल योजना कार्यान्वयन हुन सकेन र पछि उक्त क्षेत्रमा बसपार्क सञ्चालन गरिएको थियो।