धरान : १०२ वर्षीय दीर्घजीवी धरणी प्रसाद न्यौपानेले सात दिनमै खण्डकाव्य लेखेका छन् ।

मोरङको सुन्दरहरैचा-४ निवासी न्यौपानेको खण्डकाव्य “लीलाको स्तुति” लोकार्पण गरिएको छ । मोहन सिटौलाले प्रकाशन गरेको सो कृति १०२ वर्षीय न्यौपानेले उनकै निवासमा लोकार्पण गरे । शास्त्रीय छन्दका १ सय ५५ श्लोक रहेको काव्य एक जना अपाङ्गता भएकी ३७ वर्षीय युवतीका बारेमा लेखिएको छ ।

सेरेब्रल पाल्सी रोगका कारण आँखा नदेख्ने,कान सुन्ने,कुरा वुझने तर अभिव्यक्त गर्न नसक्ने झापा चारपानेकी लीला सिटौलाको अव्यक्त भावनालाई खण्डकाव्यमा उतारिएको छ ।

ती युवतीले सूर्य स्तुति मार्फत उज्यालोको खोजी गरिएको छ । सपनामा आफ्ना बारेमा लेख्न आग्रह गरेपछि आफूले सो कृति तयार पारेको लेखक न्यौपानेले बताए । लोकार्पण कार्यक्रममा प्रकाशन सहयोगी मोहन सिटौला र डिल्लीराम सिटौलाले शिक्षा क्षेत्रमा धरणीधर न्यौपानेले पुर्‍याएको योगदानको चर्चा गरे । साहित्यकार गोपाल सङ्ग्रौलाले पुस्तकमा काव्य नायिकाले सूर्य स्तुति मार्फत आफ्ना भावना अनुभूत गर्नुका साथै नैतिक शिक्षा समेत दिएको बताए । समाजसेवी प्रेम प्रकाश सिटौलाले उमेरले १ सय २ वर्ष पुगे पनि धरणीधर गुरुको कार्य भने अझै तन्नेरीको झैँ रहेको बताए ।

धरणीधर न्यौपानेका नाति त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह परीक्षा नियन्त्रक नन्द न्यौपानेले पुस्तकमा एक जना अपांडगता भएकी युवती मार्फत आवाज विहीनको आवाज बुलन्द भएको बताए । कार्यक्रमका अध्यक्ष डिल्लीराम सिटौलाले तेहथुमको चुहानडाँडामा त्यो समय शिक्षाको उज्यालो प्रकाश छरेर हजारौलाई ज्योति प्रदान गरेको भन्दै न्यौपानेको प्रशंसा गरे । तेह्रथुम चुहानडाँडा वाट ताप्लेजुङ ढुगेसाँघु बसाइँ सरेर जननेता मदन भण्डारीलाई समेत अक्षर चिनाएका गुरुलाई राष्ट्रलेनै सम्मान गर्नुपर्नेमा जोड दिए ।

१ सय २ वर्षीय काव्यकार न्यौपानेका छोरा मोहन न्यौपानेका अनुसार उनी अहिले सम्म चस्मा नलगाई लेखपढ गर्न सक्छन् । केही न केही गरेर बस्ने धरणीधर न्यौपाने अहिले पनि अर्को काव्य सृजना गरिरहेका छन् । आज लोकार्पण गरिएको कृति सहित उहाँका आधा दर्जन कृति प्रकाशित छन् । न्यौपाने वंशावली, ग्राहस्थ्य शिक्षा,कोशी सामाजिक खण्डकाव्य,गन्तव्य गोरेटो आत्मकथा र कविता सङ्ग्रह प्रकाशित छन् ।