धरान : धरान-८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजना स्थलमा बसपार्क निर्माणकालागि काम सुरु हुने भएको छ ।

धरान उपमहानगरपालिकाले जग्गा धनीहरूलाई आयोजना स्थलमा लगाएको बाली हटाउने बारे ७ दिने सूचना जारी गरेको छ । सो क्षेत्रमा बसपार्क तथा सडक लगायतका पूर्वाधारहरू निर्माण गर्ने सम्बन्धमा आयोजना स्थलका सडकहरू निर्माण गर्नको लागि ड्रोईङ्ग, डिजाइन, स्टमेट सहित डिपिआर तयार गर्न सडक, ब्लक र जग्गाधनीहरूको जग्गा सिमाङ्कन गर्ने कार्य गर्नुपर्ने जनाउँदै सो सूचना जारी गरिएको धरान उपमहानगरपालिकाका सूचना अधिकृत खगेन्द्र खतिवडाले बताए ।

१३ बिघा क्षेत्रफल रहेको सो स्थानमा अहिले बाली लगाइएको छ । यही असोज पहिलो हप्ताबाट स्थलगत रूपमा बस पार्कको डिपिआर सुरु गरी कार्य प्रारम्भ गर्न लागिएको बताइएको छ । आयोजना स्थलमा लगाइएको बालीनाली तथा बोटविरुवाहरुले जग्गा नाप जाँच र सिमाङ्कन गर्न नमिल्ने भएको हुँदा सूचना प्रकाशन गरिएको मितिले ७ दिनभित्र आफै खाली गर्न सूचनामा सूचित गरिएको छ ।

सूचना जारी गरिएको ७ दिन भित्रमा जग्गा खाली नगरिए नगरपालिका आफैले खाली गरी कार्य गर्नुपर्ने हुँदा सम्बन्धित महानुभावहरूलाई जानकारीको लागि ७ दिने सूचना जारी गरेको अधिकृत खतिवडाले बताए । सर्भे र सिमाङ्कनको कार्य समाप्त भएपछि सम्बन्धित जग्गाधनीलाई आ-आफ्नो जग्गा देखाई जानकारी गराउने पनि सूचनामा उल्लेख गरिएको छ ।

Bus-Park-Suchana

dharan-smart-buspark2