बिर्तामोड : झापाका उद्योगी तथा निजी क्षेत्रका प्रतिनिधिले सरकारलाई नागरिक आचारसंहिता तत्काल जारी गर्न सुझाव दिएका छन् । अब कुनै पनि व्यापार व्यवसाय बन्द गर्ने अवस्था नरहेको भन्दै यस्तो अवस्थामा नागरिकले पालना गर्नुपर्ने नियम सम्बन्धी आचारसंहिता तत्काल लागू गर्नु पर्नेमा जोड दिएका हुन् ।

संवाद समूह झापाले शुक्रवार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रका व्यवसायीले अब बन्दको विकल्प खोज्न जरुरी रहेको बताए । कोभिड-१९ ले व्यापार व्यवसायमा पारेको प्रभाव, समाधानका उपाय र आम नागरिकको स्वास्थ्य सुरक्षा विषयक छलफल कार्यक्रममा बोल्दै मेची डिस्ट्ब्युटर एसोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले अब कोरोना भाइरसबाट बच्ने र अपनाउनुपर्ने सावधानी अपनाउँदै व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । कोरोना भन्दा आत्महत्या र डिप्रेसनको समस्या भयावह बनेका भन्दै यो विषयमा सरकारले बेलैमा सोच्नुपर्नेमा जोड दिए । अनावश्यक हिड्डुल बन्द गर्नुपर्ने भन्दै अब ग्राहक र व्यवसायी दुवै सचेत बन्नुको विकल्प नभएको बताए ।

झापा उद्योग सङ्घका अध्यक्ष टिकराज ढकालले कोरोनाका कारण व्यापार व्यवसाय बन्द हुँदा आर्थिक मन्दी सुरु भएको बताए । यो अवस्थामा सरकारले आर्थिक सहयोग गरेर ब्यवसायीहरुलाई आफ्नो व्यवसायमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । अब क्रेता र विक्रेता आफैँ सचेत बन्दै व्यवसाय सञ्चालन गर्नुको विकल्प नरहेको उनको भनाई छ । उनले आवश्यक सावधानी अपनाउन ठाउँ-ठाउँमा हात धुने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

नेपाल चेम्बर केन्द्रीय सदस्य राजेन्द्र घिमिरेले उद्योग व्यवसाय खोल्दा आवश्यक सुरक्षा मापदण्डको पालना गर्नुपर्ने बताए । नागरिक आफैँले आचारसंहिता बनाएर पालना गर्नु पर्ने भन्दै उनले निजी क्षेत्रले आफैँ आवश्यक सावधानी अपनाएर उद्योग व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए । अनावश्यक हिँडडुल बन्द गर्नुपर्ने र अत्यावश्यक काम बाहेक घुमफिर बन्द गर्नुपर्ने बताए । झापाका सहरी क्षेत्रमा भिडभाड बढ्न थालेकाले आवश्यक सावधानी अपनाउनुको विकल्प नभएको उनको भनाई छ ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष बलराम कार्कीले व्यापार व्यवसाय ठप्प भएको ६ महिनाभन्दा धेरै भएकाले अब आवश्यक सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालनको विकल्प नरहेको धारणा व्यक्त गरे । व्यापार व्यवसाय ठप्प हुँदा धेरैले रोजगारी समेत गुमाउनु परेको र केही व्यवसायी आफ्नो व्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा पुगेकाले राज्यले यस तर्फ तत्काल ध्यान दिनुपर्नेमा जोड दिए । सरकारले यो समयमा कर छुट दिनुपर्ने भन्दै उनले अब नागरिक आफै सचेत बन्नुपर्ने उल्लेख गरे ।

नेपाल ट्रेड युनियन काँग्रेस झापाका अध्यक्ष यज्ञ प्रताप अधिकारीले श्रमिक, मजदुरहरूको स्वास्थ्यको विषयमा उद्योगीहरु सचेत बन्नुपर्नेमा जोड दिए । उनले बन्दको विकल्प खोजेर सुरक्षित रूपमा व्यापार व्यवसाय सञ्चालन गर्नु भन्दै आवश्यक सावधानी अपनाएर अघि नबढे मजदुरहरू झनै समस्यामा पर्ने बताए । उनले पीसीआर परीक्षणको दायरा बढाउन सरकार सँग माग गरे ।

ट्राभल एजेन्टका शेखर ढकालले असोज ५ गतेबाट आन्तरिक रूपमा हवाई उडान गर्ने भएकाले ट्राभल व्यवसायीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर सेवा सञ्चालन गर्ने बताए । उनले बालबालिका र वृद्धवृद्धाहरुलाई यात्रा नगर्न आग्रह गर्दै आवश्यक काम बाहेक नहिँड्न अनुरोध गरे । हवाई यात्रालाई सुरक्षित बनाउन आफूहरू तयार रहेको उनको भनाई छ ।

महिला चेम्बर झापा झापाकी अध्यक्ष प्रेमा भट्टराईले कोरोनाका कारण व्यवसायीहरू समस्यामा परेको उल्लेख गरिन् । उनले विशेष गरेर महिलाहरूले सञ्चालन गरेको व्यवसाय झनै धराशायी बनेको र यो समयमा घरधनी र बैङ्कको ब्याजका कारण कसरी रकम जोहो गर्ने समस्यामा महिलाहरू पुगेको बताइन् । उनले सरकारले महिलाले सञ्चालन गरेको व्यापार व्यवसायलाई प्रवर्धन गर्न विशेष नीति ल्याउनुपर्नेमा जोड दिइन् ।

आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने र अब बन्द गरेर बस्न नसक्ने होटेल व्यवसायी सङ्घ झापाका महासचिव शिवराज पौडेलको भनाई छ । लामो समयसम्म होटेल व्यवसाय बन्द हुँदा धेरै व्यवसायीहरू व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेको र झापाका २० हजार बढी मजदुरहरू बेरोजगार अवस्थामा बस्नुपरेको बताए । उनले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर खोल्नुको विकल्प आफूहरूसँग नरहेको बताए ।

प्याव्सन झापाका हरिकृष्ण पाठकले लामो समयसम्म शैक्षिक क्षेत्र बन्द हुँदा शिक्षक र विद्यार्थी दुवैलाई समस्या भएको बताए । पठनपाठन बन्द हुँदा झापाका मात्रै ४० हजारभन्दा बढी विद्यार्थी अन्योलमा रहेको र कसरी शैक्षिक सत्रलाई अघि बढाउने भन्ने विषयमा छलफल जारी रहेको बताए । उनले यो अवस्थामा अभिभावकलाई पनि शुल्क तिर भन्ने अवस्था नरहेको र नतिरे शिक्षक पनि समस्यामा परेकाले अब कसरी अघि बढ्ने भन्ने अन्योल रहेको विचार व्यक्त गरे । अनलाइन मार्फत केही विद्यालयले कक्षा सञ्चालन गरे पनि सबै विद्यार्थीलाई समेट्न नसकिएको बताइएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका सचिव देवी भट्टराईले कोरोनाको सबैभन्दा धेरै मार यातायात क्षेत्रमा परेको बताए । उनले अब यातायात व्यवसायीहरूले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर यातायात सञ्चालन गर्ने बताए । उनले यात्रुको सम्पूर्ण विवरण टिपोट गरिने र आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर मात्रै यात्रा गराउने बताए । लामो समय यातायात बन्द हुँदा चालक र सहचालक समस्यामा परेको उल्लेख गरे ।

मेची बस व्यवसायी सङ्घका अध्यक्ष विष्णु कुमार श्रेष्ठले लामो समयको यातायात बन्दले समस्या सिर्जना भएको बताए । उनले हालसम्म कोही पनि चालक तथा सहचालक सङ्क्रमित नभएको र आवश्यक स्वास्थ्य सुरक्षामा आफूहरू सचेत रहेको बताए । उनले यातायातमा कर छुट हुनुपर्ने र सरकारले राहत दिनुपर्नेमा जोड दिए ।

महिला उद्यमी सङ्घ झापाकी अध्यक्ष गोमा भट्टराईले आवश्यक सुरक्षा सतर्कता अपनाएर आ-आफ्नो व्यापार व्यवसाय सञ्चालनको विकल्प नरहेको धारणा व्यक्त गरिन् । कोरोनाका कारण व्यापार व्यवसाय ठप्प हुँदा धेरैको रोजगारी गुमेको भन्दै अब सरकारले विशेष सहुलियत कर्जा दिनुपर्ने बताइन् ।

हार्डवेयर व्यवसायी सङ्घ झापाका अध्यक्ष मातृका कोइरालाले अब सबै व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने तर, सुरक्षा भने अपनाउनु पर्नेमा जोड दिए । ९९ प्रतिशत हार्डवेयर व्यवसायीले बैङ्कबाट ऋण लिएर ब्यवासय गरिरहेको र अहिले बन्द रहेको अवस्थामा समेत बैङ्कको ध्यान भने ब्याज असुल्ने र नाफा कमाउने मै केन्द्रित भएको बताए । बैङ्कहरूले सहुलियत कर्जा दिने बहानामा ब्याज असुल्ने काम गरिरहेकाले बैङ्कहरूको नियमन गर्न सरकारलाई आग्रह गरे । उनले कोरोनाका कारण व्यापार व्यवसाय चौपट्ट भएकाले आवश्यक सावधानी अपनाएर सञ्चालन गर्नुको विकल्प नरहेको उल्लेख गरे ।

सामूहिक छलफलबाट ८ बुँदे साझा प्रतिबद्धता जनाउदैं आवश्यक स्वास्थ्य सावधानी अपनाउन सबैसँग आग्रह गरिएको छ । छलफलको सहजीकरण संवाद समूहका अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।