झापा : बाह्रदशी गाउँपालिका-६ काँक्रामारी निवासी देवका सङ्ग्रौलाले आठ वर्ष अघि बिर्तामोडमा रहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडबाट ५० हजार रुपैयाँ ऋण लिइन् ।

तत्कालीन डाँगीवारी गाविसको काँक्रामारीमा सो संस्थाले महिला समूह गठन गर्दै ऋण तथा बचतको कार्यक्रम सञ्चालन गरेपछि सङ्ग्रौला पनि समूहमा आबद्ध हुँदै बचत र ऋणको कारोबारमा संलग्न भइन् । सङ्ग्रौलाले आठ वर्ष अघि संस्थाको केन्द्र नम्बर ९३ मा सदस्य बन्दै ५० हजार रुपैयाँ ऋण लिइन् र पाँच वर्ष अघि नै चुक्ता पनि गरिन् ।

'संस्थामा १५ वर्षसम्म नियमित बचत गरेको खण्डमा आफूले बचत गरेको रकमको दोब्बर रकम पाइने भनिएको थियो' : सङ्ग्रौलाले भनिन । सोही बमोजिम नियमित रकम जम्मा गर्दै गएँ, म अमेरिका नजाउन्जेल संस्थामा मेरो नियमित बचत थियो । ऋण त चुक्ता थियो नै बचत समेत गरेकी मेरो नाममा अहिले लघुवित्तले एक लाख ७५ हजार रुपैयाँ ऋण देखाएको छ ।

लघुवित्तबाट लिएको ऋण पाँच वर्ष अघि नै चुक्ता गरेको थियो– सङ्ग्रौलाले भनिन - नाडेपले ताकेता गरेपछि संस्थामा आएर बुझ्दा मेरो नाममा बचत २२ हजार रुपैयाँ रहेछ तर ऋण भने एक लाख ७५ हजार रुपैयाँ रहेछ । 'पाँच वर्ष अघि नै संस्थाबाट लिएको ऋण चुक्ता गरेकोमा अहिले आफ्नो नाममा ऋण छ भन्दा मर्नु न बाँच्नु भएको छ' : सङ्ग्रौलाले भनिन। कुन मितिमा मैले ऋण लिएको छ हेरौँ भन्दा संस्थाले कुनै कागजात देखाएको छैन । न मेरो खाता देखाउँछन् न त ऋण लिएको प्रमाण दिन्छन् ।

संग्रौलामात्र होइन बाह्रदशी-६ निवासी डिल्लीराम कँडेलको पनि समस्या उस्तै छ । कँडेलकी श्रीमती कल्पनाले पनि समूहमा आबद्ध हुँदै बचत तथा ऋणको कारोबार गरिन् । कारोबार गर्ने क्रममा लघुवित्तबाट लिएको सबै ऋण चुक्ता गरेर चार वर्ष अघि नै आफू बाहिरिएको तर अहिले आफ्नो नाममा संस्थाले ऋण देखाएको भन्दै उनले पनि आपत्ति जनाइन् ।

'समूह जान आउन टाढा भएकाले चार वर्ष अघि नै संस्थाबाट निस्किएका थियौँ' : कँडेलले भनिन । संस्थासँग हाम्रो अहिले कुनै सम्बन्ध थिएन तर अहिले यो संस्थाले मेरो नाममा दुई लाख रुपैयाँ ऋण देखाएको छ । भाउजू लीला कँडेल र मेरी श्रीमतीको नाममा मात्रै संस्थाले साढे तीन लाखभन्दा बढी ऋण देखाएपछि संस्थामा बुझ्न आएको हुँ, अहिले संस्थाले हाम्रो खातापाता नै नदेखाई ऋण यति छ मात्रै भन्दै आएको छ " उनले भनिन् ।

'आफ्नै परिवारमा यस्तो समस्या देखिएपछि समूहका सबै सदस्यका विषयमा खोजी गर्दा किर्ते हस्ताक्षर गरेर ऋण लिएको पाइएको छ' कँडेलले भनिन । यस विषयमा खोजी गर्दा अफिसका कर्मचारीले हामीहरूमाथि नै अनुसन्धान थालेका छन् । अहिले अफिसका कर्मचारीले हाम्रो हस्ताक्षर जुधाउने काम गर्दैछन । कँडेलले भनिन : 'हाम्रो समूहमा आबद्धमध्ये केही सदस्यले धितो राखेर ऋण लिएका रहेछन्, उनीहरूले संस्थाको ऋण चुक्ता गर्दै रोक्का गरेको जग्गा समेत फुकुवा गरिसके, तर संस्थामा भने ऋण नै देखिएको छ ।'

Nadep-Pidit

समूहमा आबद्ध दुई जना समस्यहरुले जग्गा धितो राखेर आफूले लिएको ऋण चुक्ता गर्दै अर्को बैङ्कमा प्रक्रिया अघि बढाएर ऋण लिइसक्नुभयो तर यो संस्थामा अझै ऋण देखिन्छ - कँडेलले भनिन । यदि यो संस्थामा ऋण चुक्ता गरेको थिएन भने रोक्का भएको जग्गा कसरी फुकुवा हुन्छ ?  जग्गा धितो राखेर ऋण लिएका मानिसले ऋण तिरेर जग्गा फुकुवा गरे पनि उहाँहरूको नाममा सात लाख र आठ लाख रुपैयाँ ऋण देखाइएको छ ।  कँडेलले भनिन् : संस्थामा आएर यस विषयमा कुरा उठाउँदा पनि कर्मचारी जोगाउने काम मात्रै गरेको देखिन्छ ।

सात वर्ष अघि बिहीबारे छाडेकी राधा उप्रेतीको नाममा पनि संस्थाले एक लाख ५० हजार रुपैयाँ ऋण देखाएको बताइएको छ । ११ वर्षअघि संस्थामा आबद्ध भएकी उप्रेतीले समूहको कारोवार छाडेको धेरै भयो, संस्थामा नगएकै पाँच वर्ष भयो । तर, साथीहरूले आफ्नो नाममा ऋण भएको खबर गरेपछि संस्थामा आएर बुझ्दा आफ्नो नाममा एक लाख ३६ हजार रुपैयाँ ऋण देखिएको छ  : उनले भनिन् ।

संस्थाबाट लिएको ऋण पटक/पटकको किस्तामा पहिला नै चुक्ता भएको थियो : उप्रेतीले भनिन  'संस्थामा जाँदै नगई मेरो नाममा कसरी ऋण भयो बुझ्न आएकी हुँ।' यहाँ आउँदा थाह भयो मेरो मात्र समस्या रहेनछ त्यो समूहमा बस्ने सबैको समस्या यही रहेछ ।

संस्थामा आबद्ध हुने उनीहरू केही प्रतिनिधि मात्रै हुन् । उनीहरू जस्ता धेरैलाई संस्थाले ऋणको बोझ बोकाएको पाइएको छ । धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको संस्थाको बिर्तामोड सम्पर्क कार्यालय हो । यही कार्यालयबाट सञ्चालित समूहका सदस्यलाई यस्तो समस्या देखिएको हो ।

समूहमा आबद्ध सदस्यले संस्थामा हिसाब खोज्दै घेराउ समेत गरेका छन् । उनीहरूले संस्थामा आबद्ध नै नभएका सदस्यको नाममा समेत ऋण देखिएपछि कार्यालय प्रमुखलाई आफ्नो हिसाब देखाउन माग गरे पनि लिखित निवेदन दिन भन्दै उनले हिसाब नदेखाएपछि समूहमा आबद्ध सदस्य आक्रोशित समेत भए ।

समूहमा आबद्ध सदस्यहरूले आफूले लिएको ऋणको कागजात देखाउन दबाब दिएका थिए । तर, कार्यालयका कर्मचारीले फायल नै गायब गरेको बताएपछि कार्यालयमा उपस्थित सदस्य कार्यालय प्रमुखसँग थप आक्रोशित बनेका थिए ।

यता संस्थाका प्रमुख राजेन्द्र खतिवडाले आफू एक महिना अघि मात्रै कार्यालयमा आएको र सोही विषयलाई बुझ्ने काम भइरहेको बताए । आफ्नो कार्यालय अन्तर्गत १६ सय सदस्य आबद्ध रहेको बताउँदै उनले भने- १ सय २८ वटा केन्द्र रहेका छन्, त्यसमध्ये ९३ नम्बर केन्द्रमा यस्तो समस्या देखिएको हो ।

गत वर्षको मङ्सिर महिनामा संस्थाले सो केन्द्रमा आबद्ध सदस्यलाई ऋण लगानी गरेको देखिएको छ– कार्यालय प्रमुख खतिवडाले भने 'सदस्यलाई ऋण लगानी गरेको देखिए पनि सदस्यले भने आफूहरूले ऋण नलिएको भन्दै लिखित निवेदनसहित आउनुभएको छ' ।

यस विषयमा अनुसन्धान भइरहेको छ । तत्कालीन कार्यालय प्रमुख डम्बर राजवंशीले बनाएको कागजमा उहाँ सबैले ऋण लिएको देखिन्छ, अहिले हामी छानबिनकै चरणमा छौँ- खतिवडाले भने ।

खतिवडाले यस अघिका कार्यालय प्रमुख राजवंशीलाई निलम्बन गरेर छानबिन भइरहेको बताए । राजवंशीलाई संस्थाले पुस महिनामा नै निलम्बन गरेको बताइएको छ । सर्सर्ती हेर्दा संस्थाबाट सदस्यलाई २० लाख रुपैयाँ लगानी गरेको देखिएको छ : खतिवडाले भने 'केन्द्र नम्बर ९३ का सदस्यहरूको मात्रै २० लाख रुपैयाँ बरावर यस्तो रकम देखिएको छ ।'

संस्थामा आबद्धमध्ये तिलककुमारी राई, प्रेमकुमारी पौडेल, लीला सङ्ग्रौला, मिना पौडेल, लीला कट्टेल, धनमाया लिम्बू लगायत १० जनाभन्दा बढीको नाममा २० लाख भन्दा बढी लगानी गरेको देखिएको छ । तर, संस्थाका सदस्यले भने आफूहरूले संस्थाबाट ऋण नलिएको दाबी गरेका छन् ।