धरान : विगत बर्षहरुमा हर्षोल्लासका साथ भित्र्याइने गरिएको फूलपाती यस वर्ष भने कोरोना महामारीका कारण धरान १४ विजयपुरको दन्तकाली मन्दिरमा मन्दिरका पुजारीले मात्र फूलपाती भित्राएका छन् ।

मन्दिर नजिकैको बेलको रुखबाट फूलपाती विधिवतरुपमा सीमित मानिसको उपस्थितिमा पुजारीले मात्रै भित्र्याएका छन् । विगतका बर्षहरुमा नेपाली सेना, सशस्त्र प्रहरीको बेण्डबाजा सहित सर्वसाधारणको उल्लेख्य उपस्थितिमा फूलपाती भित्र्याइए पनि यस वर्ष भने फूलपाती भित्र्याउँदा न्यून सङ्ख्यामा उपस्थिति रहेका सर्वसाधारणलाई दन्तकाली मन्दिर परिसरभित्र प्रवेशमा रोक लगाइएको थियो । सर्वसाधारणले गेट बाहिरबाट नै पूजाआजा गरेका थिए ।

फूलपाती भित्र्याउन सरिक धरान १४ का समाजसेवी एवम् शिक्षाविद् प्रा.डा. राजेन्द्र शर्माले विगत बर्षहरुमा जस्तोसुकै परिस्थितिमा पनि तामझामका साथ सप्तमीमा दन्तकाली मन्दिरमा फूलपाती भित्र्याउने गरिए पनि यस्तो अवस्था भने इतिहासमै पहिलो भएको बताए । उनले २०४५ साल भदौ ५ गते गएको भूकम्पले दन्तकाली मन्दिर भत्काउँदा समेत त्यो सालको दसैँ दन्तकाली मन्दिरमा भव्यतासाथ मनाइएको स्मरण गर्दै अहिलेको भयावह अवस्था विगतमा कहिल्यै नभएको बताए ।

विगत बर्षहरुमा धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरबाट सेनाको मार्च पास सहित वेण्डबाजाकोे टोलीले दन्तकाली मन्दिरका पुजारी, सर्वसाधारणको उल्लेख्य उपस्थितिमा ९ पत्र अर्थात् नौ वटा जडीवुटी मिश्रित फूलपाती दन्तकालीमा भित्र्याइने गरे पनि यस वर्ष भने औपचारिकतामा सीमित गरिएको मन्दिरका प्रमुख पुजारी विश्वप्रकाश खनालले बताए । उनले नौ पत्र अर्थात् अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार ९बेसार०, जयन्ती, कोलालाई विधिवत् पूजा आज गरी दन्तकालीमा भित्र्याएको बताए ।

फूलपाती भित्र्याएसँगै दन्तकालीमा सर्वसाधारणले बोका बली दिने चलन भए पनि कोरोनाका कारण मन्दिर नै बन्द गरिएको अवस्थामा यस पटक भने मन्दिर भित्र बली दिन रोक लगाइएको छ ।

Fulpati-Dantakali-2 Fulpati-Dantakali-3 Fulpati-Dantakali-4