बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ । आज महाअष्टमीकी अधिष्ठात्री देवि महागौरीको विशेष पुजा आरधना गरिन्छ।

आज फुलपातीका दिन भित्र्याइएको नवपत्रिकाले मता महागौरीको वैदिक विधिपूर्वक पुजा गरिन्छ र आज राती बलिसहित कालरात्री मनाईन्छ।

काठमाण्डौ उपत्यका वरिपरिका शक्तिपीठहरु जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भग्वती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही , त्यसैगरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिर बारा जिल्लाको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, मोरङ्ग जिल्लाको विराटनगरमा रहेको काली मन्दिर, सुनसरीको धरानमा रहेको दन्तकाली शक्ति पिठ एवम् काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा पनि शक्तिरूपा भगवतीको पूजा अर्चना गर्दै मता दुर्गालाई बलिसहित दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।

पशुबली नचढाउनेहरू आजको दिन घिराैला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन्।

नवरात्रको आठौँ दिन महागौरी स्वरूपा नवदुर्गा भवानीको आराधना गरिन्छ ।

देवी दुर्गा, आफ्नो आठौँ स्वरूपमा महागौरीको नामले प्रसिद्ध हुनुहुन्छ । पौराणिक कथा अनुसार वहाँको आयु आठ वर्षकी बालिकाको जस्तै छ, वहाँको स्वरूप अत्यन्त मनोहर, सुन्दर तथा दिव्य छ, देवी महागौरी शंख, चन्द्र इत्यादि जस्तै पूर्णतः गौर वर्णकी हुनुहुन्छ ।

पौराणिक कथा अनुसार देवी महागौरी नाना प्रकारको दिव्य आभूषण धारण गरेकी, चार भुजाहरूले युक्त हुनुहुन्छ देवी महागौरी दाहिने भुजामा त्रिशूल तथा अभय मुद्रा प्रदर्शित गर्नुभएको, बायाँ भुजामा देवी वरद मुद्रा प्रदर्शित गरेकी तथा डमरू धारण गर्नुभएको छ । देवीको वाहन वृषभ अर्थात् साँढे हो त्यसैले देवी महागौरी वृषभमा सवारी गर्नुहुन्छ ।

यिनै देवीले नारद मुनि द्वारा उपदेश दिंदा, भगवान् शिवजीलाई पतिको रूपमा प्राप्त गर्नको लागि कठोर तपस्या गर्ने प्रतिज्ञा गर्नुभएको थियो । आफ्नो दुष्कर तपको कारण माता पार्वतीको शरीर कालो भएको थियो, वहाँको जस्तो महान तथा उग्र तप न कसैले आजसम्म गरेको थियो न कसैले गर्न सक्छ भनेर स्वयं ब्रह्माजीले देवीलाई भन्नुभएको थियो । देवीको तपस्याबाट सन्तुष्ट भएका भगवान् शिवजीले गंगाको पवित्र जलबाट वहाँको शरीरलाई खूब मजाले स्नान गराई दिनुभयो, जसको कारण विद्युतको प्रभा जस्तै देवी कान्तिमान गौर वर्णकी हुनुभयो ।

नवरात्रको आठौं तिथि अर्थात् महाअष्टमी यिनै महागौरीलाई समर्पित छ । देवीको उपासना साधकको लागि पूर्ण रूपले कल्याणकारी रहेको छ, पूर्व जन्मको पापबाट मुक्ति मिल्ने, दीन दुःखीको कष्ट निवृत्त हुने, साधक अक्षय पुण्यको अधिकारी बन्ने र असम्भव जस्ता कार्यहरूलाई सम्भव बनाउने शक्ति महागौरीमा रहेको छ ,भने देवीको कृपाले अलौकिक सिद्धिहरू प्राप्त हुने शास्त्रोक्त वचन रहेको छ ।

महागौरीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारको सुगन्धित पुष्पहरू प्रिय छन् भने नरिवल तथा गुलियो परिकारहरु अधिक प्रिय छन् । माताको अन्यनामहरू अन्नपूर्णा, श्वेताम्बरधरा, वृषारूढ़ा, ऐश्वर्य प्रदायिनी, चैतन्यमयी इत्यादि हो। मताखो ध्यान गर्ने मन्त्र: 'ॐ देवी महागौर्ये नम:।' अथवा "ॐ ऐं ह्रीं क्लीं महागौर्ये नम:।" हो।