धरान : धरानमा २२०/३३ केभी क्षमताको विद्युत सब स्टेसन बनाउने निर्णय सरकारले गरेको छ ।

गौरवको आयोजना २२० केभी कोशी कोरिडोर प्रसरण लाइन आयोजनाले प्रस्ताव गरे अनुसार कार्तिक २० गते मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गरिएको हो ।

२२०/३३ केभी प्रसारण आयोजनाको सब स्टेसन निर्माण गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय पनि सरकारले गरेको नेकपाका धरान नगर इन्चार्ज चोत्लुङले बताए । धरानमा विद्युत भार नपुगेर बेला बेलामा विद्युत अवरुद्ध हुने समस्या यो सब स्टेसन निर्माण भएपछि समाधान हुने बताइएको छ ।

धरानको वडा नं २० हुँदै निर्माण गरिएको २२० केभी कोशी कोरिडोरको विद्युत प्रसारण लाइनले स्थानीय स्तरमा र पर्यटकीय विकासका सम्भावनाहरूलाई अवरोध गर्ने, क्षति पुर्‍याउने भएपछि स्थानीयवासी साथै उपमहानगरपालिकाले पनि एलाइमेन्ट स्थानान्तरण गर्नुपर्ने भन्दै आग्रह गरेको थियो ।

आयोजनाले माग पुरा नगरेको भन्दै स्थानीयको विरोधले आयोजनाको काम ठप्प भएको थियो । विवाद अन्त्यको लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहल गरेका थिए भने विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङ्ग सहित धरानमा छलफलसमेत भएको थियो । 

त्यो छलफलमा विरोध गरेर काम रोक्नु भन्दा धरानलाई फाइदा हुने गरी सब स्टेसन बनाउने र अन्य विकल्पका प्रस्ताव घिसिङले अघि सारेका थिए । सोही प्रस्ताव अनुसार धरानमा २२०/३३ केभी क्षमताको सब स्टेसन बनाउन बजेट विनियोजन भएको र आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको बताइएको छ । 

गएको कार्तिक २० गतेको मन्त्री परिषद्को निर्णयमा प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने तथा प्रारम्भिक कारबाही गर्ने अधिकारी सहायक प्रशासकीय अधिकृत द्वय अच्युत प्रसाद लामिछाने र सुरेन्द्र शर्मालाई तोकेको छ ।

 धरान १७ स्थित खैरेनीमा सो सब स्टेसन बन्ने बताइएको धरान १७ का वडाध्यक्ष मनोज भट्टराईले बताए । यता नेपाल विद्युत प्राधिकरण धरानका प्रमुख प्रताप बरालले भने यसबारेमा आफूलाई आधिकारिक जानकारी नभएको बताएका छन् । 

धरानमा बन्ने सब स्टेसनले धरानमा विद्युत भार नपुग्दा बिजुली अवरुद्ध हुने समस्या समाधान हुने र धरानलाई ऊर्जामा धेरै फाइदा पुग्ने बताइएको छ । 

Nirnaya