धरान : उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ९ औँ वार्षिकोत्सवको अवसरमा न्यानो कपडा वितरण गरेको छ ।

धरान-१० सैनिक चौकमा रहेको उद्यमशील सहकारीले धरान-८ लाङ्घाली सामुदायिक वनमा रहेको माया घरमा बस्दै आएका सडक मानवहरूलाई आज न्यानो कपडा वितरण गरेको हो ।

अहिले लाङ्घाली सामुदायिक वनमा रहेको माया घरमा ६० जना सडक मानवहरू बस्दै आएका छन् । वैशाख १ गतेबाट धरानको माया घरमा सडक मानवहरूलाई आश्रय दिन थालिएको हो ।

उद्यमशील सहकारीले आर्थिक रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व समेत निभाउनुपर्छ भन्ने हेतुले यस वर्ष न्यानो कपडा वितरण गरेको उद्यमशील सहकारीका व्यवस्थापक जित बहादुर राउतले बताएका छन् । उनले सामाजिक क्षेत्रमा पनि देन होस र समाजमा सकारात्मक सन्देश प्रवाह होस भनी न्यानो कपडा वितरण गरेको बताए ।

उक्त समयमा बोल्दै उद्यमशील सहकारीका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष डा. योगेन्द्र राईले सडक मानवहरूको व्यवस्थापन गर्ने राज्यको दायित्व भएको भएतापनि धरानमा माया घर नेपालले उक्त कार्य अघि बढाएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले माया घर सँग सहकारीको वार्षिकोत्सवमा धेरै जनाबिचमा खुसी साट्न सकेकोमा कार्यक्रमको संयोजन गरी दिने होप धरानलाई धन्यवाद समेत व्यक्त गरेका छन् । उनले माया घर नेपाललाई पुनर्जीवन होमियोप्याथिक क्लिनिक प्रा.लि.को तर्फबाट ५ हजार १५ रुपैयाँ सहयोग समेत प्रदान गरेका छन् ।

Udhamsil-sahakari-2

माया घरमा बस्दै आएका ६० जना सडक मानवहरूको खानपिन, औषधि उपचार र हेरचाह माया घरले विभिन्न सहयोगी दाताहरूको सहयोगद्वारा गर्दै आएको माया घर नेपालकी संस्थापक उपाध्यक्ष राधिका थापाले जानकारी दिएकी छन् । उनले उक्त न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै माया घरमा रहेका सडक मानवहरूलाई आश्रय मात्र नभई परिवार सङ्ग पुनर्मिलन गराउने कार्य समेत भइरहेको बताएकी छन् । उनले शारीरिक रूपमा अब्बल रहेकाहरूलाई रोजगारी प्रदान गर्नको समेत लागी परेको बताइन् ।

उक्त कार्यक्रममा होप धरानका अध्यक्ष निश्चल मोहन पलिखे, उपाध्यक्ष राकेश खड्गी, होप धरानका सदस्यहरूको साथमा उद्यमशील सहकारीका सञ्चालक समिति सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो