इटहरी : धरान-विराटनगर गाडी चलाउने राजकुमार लिम्बुले गत फाल्गुनमा एक यात्रुलाई जरिवाना तिर्नुपर्‍यो ।

गाडी रोकेकै अवस्थामा सामान हराएपछि आक्रोशित यात्रुलाई थामथुम पार्न उनले हर्जाना तिर्नुपर्‍यो । यो पहिलो घटना हैन यस अघि पनि उनले धेरै घाटा ब्यहोरीसकेका छन् ।

त्यतीमात्र हैन कतिपय अवस्थामा रात्रिकालीन पार्किङ गरेकै स्थानबाट ब्याट्री चोरी हुने गरेको उनले सुनाए । व्यवस्थित बसपार्क नहुँदा धरानमा पार्किङ गर्ने अधिकांश सवारी चालकले समस्या भोग्दै आएका छन् ।

राजकुमार जस्तै समस्या छ कमल खड्काको पनि । जथाभाबी पार्किङ गर्दा समाना हराउने मात्र हैन ट्राफिक प्रहरीको कारबाहीमा परिने सम्भावना पनि उत्तिकै छ ।

बसपार्कमा गाडी पार्किङ गर्न नपाएपछि दुर्घटना हुने गरेको खड्का सुनाउँछन् । व्यवस्थित पार्किङ सहितको बसपार्क नभएको कारण धेरै समस्या भोग्नु परेको उनले बताए ।

सुनसरीमै व्यवस्थित सहरको पहिचान बनाएको धरानले आफ्नो परिचय बदल्न थालेको छ । व्यवस्थित र सफा सहरको नामले चिनिने धरान अहिले अव्यवस्थित र झन्झटिलो देखिन थालेको छ ।

त्यही अव्यवस्थाको मुख्य कारक बनेको छ बसपार्क । धरानको मुख्य बजार भानुचोकलाइ नै बसपार्कको रूपमा कायम गरिँदा दैनिक ट्राफिक जाम भएर दुर्घटनाको जोखिम बढीरहेको छ ।

२०५८ सालमा धरानकै तीनकुनेमा बसपार्कको लागी १ बिघा १५ कट्ठा जग्गा छुट्याइए पनि अझै सम्म बसपार्क निमार्णको काम सुरु हुन सकेको छैन ।

सोही स्थानमा बसपार्क बनाउने भन्दै हालकी उपमेयर मञ्जु भण्डारी कार्यबहाक मेयर भएको बेला ४३ लाख खर्च गरेर डिपीआर तयार पारिएको थियो ।

स्मार्ट पार्किङ सहितको बसपार्क ३ तल्लाको बनाउने गरी तयारी थालिएको हो । डेढबर्ष अघि तत्कालीन कार्यबहाक मेयर भण्डारीले शिलान्यास गरेको स्मार्ट बसपार्कको काम भने अझै सुरु हुन सकेको छैन ।

Dharan-Buspark-1

शिलान्यास भएको स्थान अहिले दिउसै पनि जान नसक्ने गरी डरलाग्दो झोर झाडीले ढाकेको छ । स्मार्ट बसपार्कको क्षेत्र लागु औषध प्रयोगकर्ताको सुरक्षित थलोको रूपमा परिणत भएको छ ।

वरिपरि झार जङ्गलले घेरिएर डरलाग्दो भएको सोही ठाउँमा स्मार्ट बसपार्क बन्ने आस धराने जनताले लिएका छन् । बसपार्क नबन्दा धरानका स्थानीय मात्र हैन कोसी राजमार्गमा यात्रा गर्नु यात्रु देखी सवारी चालक समेत समस्यामा पर्न थालेका छन् ।

उता उपमेयर भण्डारी भने बसपार्कको ठेक्का प्रक्रिया सुरु हुन भइसकेको बताउँछिन् । प्राविधिक टोली सँग परामर्श गरेर काम भइरहेको उनको भनाइ छ ।

“सङ्घीय सरकारले २५ करोडमा सम्पन्न गर्नुपर्ने गरी इस्टिमेट बनाउन भनेको र सोही बमोजिम काम भइरहेको छ ।, उनले भनिन्, रिङरोड, खानेपानी र शौचालय सहितको वृहत् योजना बनाएर काम अगाडी बढ्दैछ । बसपार्क व्यवस्थापनको लागी तिनैतहका सरकार बिच समन्वयमा काम भइरहेको छ ।”