विराटनगर : नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको ११ औँ जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औँ जिल्ला भेला मङ्सिर मङ्सिर २९ गते हुने भएको छ ।

तीन वर्षको निर्धारित अवधिमा हुनुपर्ने अधिवेशन कोरोना महामारीका कारण ८ महिना ढिलो गरी मङ्सिर २९ गते हुने भएको हो । यही मङ्सिर ८ गते बसेको जिल्ला कार्यसमितिको बैठकले महासङ्घको जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको जिल्ला भेला दिनको ११ बजे विराटनगर बरगाछीस्थित इन्द्रेणी पार्टी प्यालेसमा गर्ने निर्णय गरेको हो ।

अधिवेशनमा मोरङ जिल्लाभरिबाट १ सय बढी प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ । जसमा महासङ्घका लागी २२ जना र महिला उद्यम समितिका लागी १७ जनाको कार्यसमिति चयन महासङ्घका महासचिव गोपाल काफ्लेले बताए ।

यसबाहेक स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न अधिवेशनमा जिल्ला भरिका लघु तथा घरेलु महिला उद्यमीले उत्पादन गरेका विभिन्न सर-सामाग्रीहरूको प्रदर्शनी हुने बताइएको छ । अधिवेशनमा अर्ग्यानिक चिया, मह, ताजा तरकारी तथा फलफूल, च्याउ, किवी, लत्ताकपडा र ढाकाका उत्पादन तथा जुत्ता चप्पल लगायतका उत्पादनहरूको प्रदर्शनी हुने महासङ्घका उपाध्यक्ष चेतन निरौलाले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको कार्यसमितिको कार्यकाल गत चैत्र महिनामै समाप्त भएको हो । कोरोना महामारीका कारण केही ढिलाइ भए पनि आवश्यक सुरक्षा र सर्तकताका साथ यही मङ्सिर २९ गते नयाँ कार्यसमिति चयन हुने जनाइएको छ ।