धरान : 'ओ साईला त्यो ढाका टोपीमा, म फसे तिम्रो बोलीमा' बोलको गीत सार्वजनिक भएको छ ।

पहिलो नेपाल आइडल टप सेभेन प्रमीला राईको स्वर रहेको गीतमा हङकङलाई कर्मथलो बनाएका मज्जाको राईको मौलिक शब्द, मबिन्द्र राईको सङ्गीत र महाराज थापाको एरेन्ज रहेको छ ।

पूर्वको सुन्दर पहाडी लोकेसन तेह्रथुम, वसन्तपुर, टुटे देउराली लगायतका ठाउँहरूमा भिडियो खिचिएको छ ।
गाउँघरका युवा जोडी, उनीहरू बिचको मौन प्रेम र सङ्गम नै भिडियोको थिम रहेको सङ्गीतकार तथा भिडियोको निर्देशक मविन्द्र राई बताउँछन् ।

'शब्दलाई दृश्यमा समायोजन गर्नका लागि भिडियोलाई नेपालको पूर्वी क्षेत्र रोजिएको हो । फोटो, भिडियो पत्रकारिताको लामो अभ्यासपछि नेपाली सङ्गीतमा ठेट पूर्वेली भाकाको इँटा थप्ने प्रयास गरेका छौ' रचनाकार मज्जाको राई भन्छन् 'दर्शकहरूले अवश्य मन पराउनुहुनेछ ।'

भिडियोमा हङकङको नेपाली समाजमा चर्चित मोडल ओम गुरुङलाई मेरीना राईले साथ दिएकी छिन् । देवराज खड्काको कोरियाग्राफी, दर्जन बढी डान्सरहरूको एकसाथ प्रस्तुतिलाई किवाहाङ राई लगायतको टिमले खिचेका हुन् ।

गीतलाई मज्जाको युटुव मार्फत सार्वजनिक गरिएको छ ।