धरान : प्रेस युनियन सुनसरीले जिल्लामा कार्यरत २ सय ६० जना पत्रकारहरूको निःशुल्क एक बर्से दुर्घटना बिमा गरेको छ ।

मङ्गलवार अजोड ईन्स्योरेन्स कम्पनी सुन्धारा काठमाण्डौमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा एक वर्षसम्म बिमा गरेको पत्रकारको दुर्घटनामा मृत्यु भएमा ७ लाख र दुर्घटनामा घाइते भएमा ७० हजार सम्म प्रदान गरिने उल्लेख छ ।
प्रेस युनियन सुनसरीले यसअघि आईएमई जनरल ईन्स्योरेन्स कम्पनी सँग २ सय ६० जना पत्रकारकै कोरोना बिमा गराएको थियो । सोही बापत कोरोना सङ्क्रमित भएका २२ जना पत्रकारहरूले सो रकम समेत लिइसकेका छन् ।

विराटनगरस्थित नोबेल अस्पताल सँगको सहकार्यमा प्रेस युनियन सुनसरीले जिल्लामा कार्यरत सबै पत्रकारहरूको उपचारमा ५० प्रतिशत छुटको सम्झौता समेत गरेको थियो । सोही सम्झौता कार्यन्वयन मै रहेको अध्यक्ष अधिकारीले बताए ।

कोरोनाकै कारण पत्रकारहरूलाई दैनिक जीवनयापन गर्न समेत कठिन भएको अवस्थामा ६२ जना पत्रकारहरूलाई खाद्यान्न लगायतका सामाग्री समेत प्रदान गरिएको उनको भनाई छ ।

नेपाल पत्रकार महासङ्घले समेत पत्रकारहरूको दुर्घटना बिमा गरिरहेको भए पनि सबै पत्रकारहरूले सो सुविधा लिन असमर्थ भएका कारण उनीहरूको सहजताका लागि आफूहरूले जिल्लामा कार्यरत पत्रकारको दुर्घटना बिमा गरिदिएको अधिकारी बताउँछन् ।

पत्रकारहरूलाई जोखिमको क्षति न्यूनीकरणका लागि आफूहरूले सम्झौता गरेको र यसरी प्रेस युनियन सुनसरी सँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी लागेको ईन्स्योरेन्सका अधिकृत खत्रीले प्रतिक्रिया दिए ।