धरान : धरानमा बिहीबार आदिवासी जनजाति कवि कवयित्रीहरूले आफ्नो मातृ भाषामा कविता वाचन गरे ।

राज्यबाट उपेक्षित विभिन्न जातजातिको भाषामा जनजाति कविहरूले आफ्नो मातृभाषामा मौलिक संस्कार, संस्कृति, माया प्रेम र समसामयिक विषय बस्तुमा केन्द्रित रहेर कविता वाचन गरेका थिए ।

धरान ८ को धरान सभागृहको धरान प्रज्ञा प्रतिष्ठानको सभा हलमा राई, लिम्बु, नेवा, तामाङ, याक्खा, सिङ्सावा लगायतका कवि कवयित्रीहरूले आफ्नो मौलिक भाषामा कविता वाचन गरेका थिए ।

प्रा.डा. टंक न्यौपाने, कवि बम देवान र कवि तथा पत्रकार प्रदीप मेन्याङबो निर्णायक रहेको तेस्रो बहुभाषिक कविता गोष्ठीको धरान प्रज्ञा प्रतिष्ठानको आयोजना र धरान उपमहानगरपालिकाको सहयोगमा सम्पन्न भएको हो ।

कविता गोष्ठीमा विभिन्न आदिवासी जनजातिहरुको मातृभाषामा २४ वटा कविता प्राप्त भएको थियो । प्राप्त कविता मध्ये २० जना कवि कवयित्रीहरूले आ-आफ्नो भाषामा कविता वाचन गरेका थिए । जस मध्ये १० वटा कवितालाई टप टेनमा निर्णायकले छनौट गरेका थिए ।

टपटेनमा मनि राई गोठाले-मेवाहाङ, इन्द्र योञ्जन-तामाङ, बमप्रकाश राई-चाम्लिङ, सेम्माङ याक्खा-याक्खा, प्रदीप योङया-लिम्बु, मिलन चाम्लिङ-चाम्लिङ, अमृत राई-वम्वुले, सोमा लिम्वुखिम-याक्खा, निमा पोङ्सुवा-सिङसावा र पानस गुरुङ-गुरुङ भाषाका दश कविता पर्न सफल भएका थिए । टप टेनमा पर्न सफल १० जना कवि कवयित्रीहरूलाई जनही ५ हजार नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

कविता गोष्ठीको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्राज्ञ सुभचन्द्र राईले गरेका थिए । कविता गोष्ठीमा अप्रतियोगी विभिन्न कवि कवयित्रीहरूले आ आफ्नो कविता, गजल प्रस्तुत गरेका थिए ।

मेयर राईले सम्झिए स्व. कवि विमल गुरुङलाई
धरानका मेयर तिलक राईले स्वर्गीय कवि विमल गुरुङलाई सम्झँदै गुरुङको ‘आमा ब्रुनाईबाट आएपछि’ भन्ने कविता वाचन गरेर सुनाएका थिए ।

बिहीबार धरान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बहुभाषिक कविता गोष्ठीमा मेयर राईले स्व. कवि गुरुङको कविता वाचन गरेर सुनाएका हुन् । मेयर राईले आफ्नो समकालीन साथी स्व.गुरुङ र कविताको बारेमा प्रशंसा समेत गरे । ‘राज्यले गर्न नसकेको काम हो भन्छु म, हामी कुन कुन समयमा? को को लाई के के लाग्यो ?

Bahubhasik-Kabita-Gosthima-

हामी गएर जोड्यौ त्यहाँ, समितिमा बस्यौ पनि हामी त्यहाँ, तर, त्यो भावना नबुझेर होला, त्यो पुस्तकालयमा धेरै मान्छे अडिन सक्नु भा छैन, भावना बुझ्नुपर्छ भन्छु म । आए फलैँचामा बसे जस्तो साथीहरू केही वर्ष बसे गइदिए, पुस्तकालयलाई फरक ढङ्गबाट चलाउनु पर्छ की भन्ने लाग्छ मलाई, त्यो पनि म अपेक्षा गर्न चाहन्छु’ मेयर राईले भने ।

धरान कला, साहित्य, रङ्गकर्म र खेलकुदमा अत्यन्तै अग्रणी भूमिका निर्वाह गरेको ठाउँ भएको पनि मेयर राईले बताए । मेयर राईले धरान प्रज्ञा प्रतिष्ठानलाई फलाउने फुलाउने प्रक्रियामा अगाडी बढिरहेको बताए ।

प्रज्ञा प्रतिष्ठानको क्रियाशीलताले अब धरानमा थप राम्रो गतिविधिहरू गर्दै जानेमा आफूले विश्वास लिएको बताए । फरक धारमा, फरक हिसाबमा, जुन पहिचानको मुद्दा बोकिरहेको छ, यसलाई पनि आत्मसाथ गरेर कला, साहित्यलाई भाषासँग जोडेर, पहिचानसँग जोडेर बहुभाषिक कविता गोष्ठी भएको भन्दै मेयर राईले प्रशंसा समेत गरे ।