इटहरी : उपमहानगरले दुई दिन सम्म तालिम दिएर सिकाएको भोलिपल्टै देखि इटहरी ५ जनता वस्तिकी मालती राईले डोनट बनाएर बेच्न थालेकी छन् । अहिले त दिनमै ५ सय सम्म सम्म फाइदा हुन थालिसकेको उनले बताइन ।

इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत विपन्न समुदायका महिलाका लागि दुई दिने डोनट, भक्का र पकौडा बनाउने तालिम दिएपछि १६ जना महिलाले सिकेको सिप अनुसार डोनट, भक्का र पकौडा बनाएर बेच्न थालेका हुन ।

उपमहानगरले व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने भाँडा,ताई,आरी,जग,झाँभर,बाल्टी,चिम्टा,तेल पीठो प्रदान गरेको छ ।

उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले सामग्री प्रदान गर्दै  महिला दिदीबहिनीलाई आत्मनिर्भर बन्न शुभकामना व्यक्त गरेँ । उपप्रमुख गौतमले परिवार धान्न समस्या परिरहेका दिदी बहिनीहरूले गरिखाने अवस्था सृजना गर्न उपमहानगरले तालिम प्रदान गरी  सामग्री समेत उपलब्ध गराएको बताइन ।

तालिम र व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सामग्री प्राप्त गरेपछि मालती राईले भनिन् “घरैमा त्यतिकै बस्नुभन्दा डोनट बनाएर बेच्दा नुन तेल खान पुग्ने रहेछ ।” इटहरी उपमहानगरले सञ्चालन गरेको डोनट,भक्का र पकौडा बनाउने तालिममा २७ जना महिलाको सहभागिता थियो ।

ती मध्ये १६ जनाले तालिम पछि डोनट, भक्का र पकौडा बनाएर बेच्न सुरु गरेका हुन ।