इटहरी : नेपाल विज्ञापन सङ्घका महासचिव कृष्ण घिमिरेले सरकारले गठन गरेको विज्ञापन बोर्डमा विज्ञापन सङ्घ लाई नसमेट्नु दुखद भएको बताएका छन् ।

सुनसरीको इटहरीमा पाथीभरा एड्भरटाइजीङ तथा पाथीभरा जब लिङ्क प्रालिको सातौँ तथा दोस्रो वार्षिकोत्सव कार्यक्रममा बोल्दै घिमिरेले सरकारको कदमले विज्ञापन बजारका लागि अनुपयुक्त रहेको बताएका हुन् ।

सरकारले गठन गरेको विज्ञापन बोर्डमा एक जना पनि प्रतिनिधि नहुनुले विज्ञापन बजारको विकाश हुन नसक्ने दाबी गरेका छन् । उनले सरकारले क्लिन फिड नीतिलाई कडाइपूर्वक लागू गर्न सकेमा विज्ञापन बजार हालको भन्दा दोब्बर पुग्ने पनि उनको दाबी छ ।

घिमिरेले नेपाली साना तथा स्थानीय मिडियाको प्रर्बधनकालागी समानुपातिक विज्ञापनको आबश्यक्ता रहेको कुरामा पनि जोड दिएका छन् ।

नेपाल विज्ञापन बोर्डका सदस्य चन्द्र न्यौपानेले मिडियालाई व्यवस्थित गर्दै सबैलाई समानुपातिक विज्ञापन वितरण गरिने बताए । उनले सरकारले विज्ञापन सङ्घलाई समेत प्रतिनिधिमूलक रूपमा समेट्ने दाबी पनि गरेका छन् ।

Pathivara-anniversary-1

उनले विज्ञापन एजेन्सीलाई पनि बोर्डमा दर्ता गरेर प्रभावकारी माध्यमबाट बोर्ड सञ्चालन गर्ने उल्लेख गरे ।
कार्यक्रममा पाथीभरा एड्भरटाइजीङ तथा पाथीभरा जब लिङ्क प्रालिका अध्यक्ष पवन अधिकारीले प्रदेश १ का सञ्चार माध्यमका लागी विज्ञापन बोर्ड र सङ्घको केन्द्रीय कार्यालयले उचित कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

अधिकारीले आगामी दिनमा पाथीभरा एड्भरटाइजीङ तथा पाथीभरा जब लिङ्क प्रालिको सेवा विस्तार गर्दै मिडियाहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संस्थाले प्रदेश १ मा रहेर गरेको कार्य उदाहरणीय रहेको बताए ।

उनले यस्ता कार्यले मिडियाका लागि सहयोग पुग्ने बताउँदै पत्रकार तथा सञ्चार माध्यमका लागि सङ्घले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा सञ्चारकर्मी लगाएको बाक्लो उपस्थिति थियो ।