झापा : नेपालमा एकपछि अर्को गरी बलात्कारका घटनाहरू बाहिर आइरहेका छन् । अझ बलात्कार पछि पोल खुल्ने डरले हत्या सम्मको अर्को अपराध हुने गरेको प्रहरी अनुसन्धानले देखाउँछ ।

विशेष गरी नेपालमा भएका यस्ता घटनाको तथ्याङ्क हेर्ने हो भने कम उमेरका बालिका बलात्कारको सिकार हुने गरेका छन् । २०७५ साउन ११ गते कञ्चनपुरको भीमदत्त नगरपालिकामा १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्या भयो । बाटोबाट करिब ७० मिटर भित्र उखुबारीमा लगेर हत्या गरिएको खुल्यो ।

तर शव भेटिएको स्थानमा बलात्कार नभएर त्यही आसपास भएको अनुसन्धानमा खटिएका प्रहरीले बताउँदै आएका छन् । १३ वर्षकी र कम तौल भएकी बालिकालाई एउटा वयस्क पुरुषले सहजै बोकेर एकान्तमा लगी बलात्कार गर्ने सम्भव देखिएको थियो । पोस्टमार्टम रिपोर्टले पनि उनको सामूहिक बलात्कार नभएको देखाएको छ ।

प्रहरीको तथ्याङ्कले दैनिक देशभर ३ जना बालबालिका बलात्कृत हुने गरेको देखाउँछ । गएको ६ महिनामा मात्र देशभर ८ सय ४ जना बालिका बलात्कृत भएको देखाएको छ ।

आर्थिक वर्षको पुस महिनासम्म देशभर १ हजार २ सय ७२ वटा बलात्कारका घटना भएका थिए । जसमा ८ सय ४ जना बालिका र ४ सय ६७ जना महिला रहेको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

यस्तो छ नेपाल प्रहरीको तथ्याङ्क :

६ महिनामा मात्र देशभर ८ सय ४ जना बालिका बलात्कृत । आर्थिक वर्षको पुस महिनासम्म देशभर १ हजार २ सय ७२ वटा बलात्कारका घटना भए ।

८ सय ४ जना बालिका र ४ सय ६७ जना महिला बलाकृत भएका छन् । ती मध्ये पनि १० वर्षमुनिका बालिकाको सङ्ख्या १ सय ४९ जना रहेको छ ।

जसमा ११ देखि १६ वर्षसम्म ४ सय ८२ जना र १७ देखी १८ वर्षसम्म १ सय ७३ जना । बालिका बलात्कृत हुनुको सङ्ख्या बढ्नुमा धेरै कुराले असर पार्छ ।

प्राविधिक पहुँच, शारीरिक लगायत धेरै कुराले गर्दा आपराधिक मानसिकतालाई जन्म दिएको देखिन्छ ।

यस्तै विगतका वर्षहरूमा बलात्कारका घटनाको यो तथ्याङ्क हेरौँ-आर्थिक वर्ष २०७६/७७ मा देशभर २ हजार १ सय ६७ वटा बलात्कार घटना घटे ।

जसमा १ हजार ३ सय ९३ वटा घटनामा बालिकानै बलात्कारको सिकार बने । महिलाको सङ्ख्या-७ सय ७१ जना । १० वर्ष मुनिका बालिकाको सङ्ख्या – २ सय ७३ जना । जसमा ११ देखि १६ वर्ष उमेर समूहमा ८ सय १ जना रहेका छन् । १७ र १८ वर्ष उमेर समूहका ३ सय १९ जना रहेका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा देशभर बलात्कारको घटना २ हजार २ सय ५४ वटा । बालिकाको सङ्ख्या १ हजार ४ सय २० जना रहेको छ । धेरै जसो बलात्कारको घटनामा आफन्त र चिनेजानेकाबाट नै हुने गरेको छ ।

बलात्कारपछि घटना खुल्ने डरमा हत्या गर्ने गरेको भेटिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानले ८० प्रतिशत बलात्कारको घटना चिनिजानेकाबाटनै भएको देखिएको छ ।