धरान : धरान उपमहानगरपालिका कार्यक्षेत्र रहेका सहकारीहरूले बदमासी गरेको विषयमा गुनासो बढेपछि मेयर तिलक राईले सक्रियता बढाएका छन् । निक्षेपकर्ताको रकम हिनामिना हुने गरेको, समयमै रकम फिर्ता नगरेको जस्ता गुनासा आएकोले समयमै त्यस्ता गतिविधि सुधार्ने मेयर राईले अपिल गरेका हुन् ।

आइतबार एक अपिल जारी गर्दै उनले धरानमा जथाभाबी कलेक्टरहरुका माध्यमबाट रकम उठाउने कार्यहरू भइरहेको उल्लेख गरेका छन् । 'सहकारी संस्थाको कार्यालय नै नखोली सञ्चालनमा रहेको र संस्थाको नामको वोर्डमात्र राखेर कारोबार गर्ने गरेको पाइएको छ । सहकारी संस्थाहरूले सहकारी ऐन तथा नियमावलीले गरेको ब्यवस्थानुसारको प्रक्रियाहरू पालना नगरेको जस्ता गुनासाहरूले व्यापकता लिइरहेको छ' अपिलमा भनिएको छ ।

गुनासा र निक्षेपकर्ताहरुको निवेदनहरूमा नगर प्रमुखका हैसियतले यस्ता विषयहरूमा ध्यानाकर्षण भएको उनले बताएका छन् । साथै नगरवासीहरूमा सहकारी सेयर सदस्य रहँदा र सम्बन्धित सहकारीमा सेयर सदस्यले बचत गर्दा सम्बन्धित सहकारीको गतिविधि तथा प्रतिष्ठाका बारेमा सुसूचित भएर मात्र सदस्यता लिन आग्रह गरेका छन् ।

सम्बन्धित सरोकारवाला सहकारीले ध्यान नदिए उपमहानगरपालिकाको सहकारी ऐन २०७५ र मौजुदा कानुनी व्यवस्था अनुसारको कारबाही गरिने बारे सचेत गराएका छन् ।

sahakari-thagi-letter