धरान : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्योगी व्यवसायीहरूको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको बताएका छन् ।

कोभिड-१९ का कारण भएको समस्या प्रति सरकार गम्भीर भएको बताउदैं उद्योग व्यवसाय प्रवद्धनका लागि प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउने बताए ।

शनिवार धरानमा सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गदै यति बेला राजनीतिक परिस्थिति प्रतिकुल छ, परिस्थिति अनुकूल भए पछि सरकारले प्रदेश १ को आर्थिक मजबुत बनाउन नयाँ योजना ल्याउने बताए ।

क्याबिनेटको पहिलो बैठकबाट यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालयहरूबाट अनलाइन सेवा सञ्चालन गर्न निर्णय गरेको छ । कोभिड प्रभाव न्यूनीकरणका लागि १० करोड बजेट विनियोजन गरेर प्रदेश सरकारले काम थालेको उनले बताए ।

प्रदेश सरकारको विकास सम्वृद्धिका लागि उद्योगी व्यवसायीहरूसँग हातेमालो गरेर अगाडी बढ्ने सरकारको नीति भएकाले सरकारलाई सहयोग गर्नसमेत उहाँले आग्रह गर्नु भएको छ ।

कार्यक्रममा प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको आर्थिक सम्वृद्धिका लागि उद्योगी र व्यवसायीको ठुलो भूमिका भएको बताए ।

कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घ अध्यक्ष गिरीधारी सापकोटा, पूर्व अध्यक्ष मोहनकाजी शाक्य, प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ लगायतले व्यवसायी र उद्योगीहरूको तत्कालका समस्याहरू उठान गरेका थिए ।