धरान : प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज मन्त्रिपरिषद्को बैठक बसेको छ।

बैठकले सार्वजनिक सेवा गुणस्तरीय र प्रभावकारी बनाउने तथा सार्वजनिक सेवा प्रवाह व्यवस्थित गर्न १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

कार्यालयका सेवा प्रवाहलाई व्यवस्थित गर्न प्रत्येक जिल्लामा एकीकृत सङ्गठन संरचना तयार गरी सेवा प्रवाह गर्ने निर्णय गरेको हो । प्रदेश भरीका कृषकहरूको सहजताका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहने यस्तो निर्णय गरेको हो ।

बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गत १४ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण तिवारीले बताए ।

उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत १४ वटै जिल्लाका पूर्वाधार विकास कार्यालयहरू स्थापना गर्ने निर्णय भएको छ । यस अन्तर्गत सडक, सहरी विकास, झोलुङ्गे पुल तथा पक्की पुल लगायतका काम पर्छन् ।

यस्तै खानेपानी, सिचाई, ऊर्जा, जलश्रोत लगायतका विषयका काम कारबाहीलाई प्रभावकारी बनाउन १४ वटै जिल्लामा खानेपानी तथा जलश्रोत व्यवस्थापन कार्यालयको स्थापना गर्ने निर्णय भएको छ ।

यस अघि मन्त्री परिषद्को बैठकले यातायात व्यवस्था र मालपोत कार्यालयको गुणस्तरीय सेवा प्रवाहका लागि अनलाइन प्रणालीमा सेवा प्रवाह गर्ने निर्णय गरी सकेको छ ।

जनतालाई घर दैलोमा गुणस्तरीय सेवा प्रवाह गर्ने कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको मन्त्री तिवारीले बताए ।