बिर्तामोड : नेपाली काँग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत बिर्तामोड नगर अधिवेशनमा द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ। बिर्तामोड नगरपालिकाको ३ नं वडाध्यक्ष समेत रहेका पार्टीका वर्तमान नगर सभापति भोजराज सिटौलाले तेस्रो कार्यकालको लागि उम्मेदवारी दिने घोषणा गरेसँगै वडा नं.४ का वडाध्यक्ष कुल प्रसाद सङ्ग्रौला र सिटौला बिच भिडन्त हुने पक्का भएको हो ।

बिर्तामोड नगरपालिका वडा नं.४ मा नेपाली काङ्ग्रेसबाटै नेतृत्व गर्दै भारी मतका साथ विजय हासिल गरेका वडाध्यक्ष कुल प्रसाद सङ्ग्रौलाको नेतृत्वमा उप-सभापति बलराम कार्की र पशुपति राजवंशी, सचिवमा दीपेन्द्र राउत र अच्युत दाहाल, सह-सचिवमा धर्मेन्द्र सिटौला र अमोद दाहालको टिम नगर अधिवेशनमा उत्रिएको हो ।

नगर सभापतिका उम्मेदवार कुल प्रसाद सङ्ग्रौला लामो समय सम्म पार्टीमा रहेर काम गरेका कुशल कार्यकर्ताको रूपमा परिचित छन् । स्वंं. नेता कृष्ण प्रसाद भट्टराईको हातबाट २०४८ सालमा क्रियाशील सदस्यता हासिल गरेका सङ्ग्रौला, २०४८ सालमै सर्वसम्मत क्षेत्रीय प्रतिनिधि हुँदै पार्टीको आठौँ महाधिवेशन प्रतिनिधि पाँचथर जिल्ला क्षेत्र नं. १ वाट सर्वसम्मत चयन भएका थिए । आफ्नो टिमले गुटको राजनीति अन्त्यका लागि नयाँ नेतृत्व निर्माण गर्दै १४ औ महाअधिवेशनमा उम्मेदवारी दिएको सङ्ग्रौलाले बताए।

आफू पार्टीको सभापति निर्वाचित हुने विश्वास व्यक्त गर्दै कार्यकर्ताको हक र हितमा रहेर काम गर्ने समेत सङ्ग्रौलाले जानकारी दिए । नेपाली काँग्रेस बिर्तामोड नगर कार्यसमितिले नगरका क्रियाशील सदस्यको पक्षमा रहेर पार्टी सुदृढीकरण साथै हालको विभेदको समेत अन्त्य गर्ने सङ्ग्रौलाको नेतृत्वले प्रतिबद्धता समेत जाहेर गर्दै, नेपाली काँग्रेस झापाका नेता तत्कालीन जिल्ला समिति स्व. लक्ष्मण खड्काको सपनालाई साकार पार्न उनकै परिवारजन बाट पार्टीलाई प्राप्त भएको जग्गामा १ बर्सभित्रै नेपाली काँग्रेस नगर कार्य समितिको सुविधायुक्त भवन निर्माण गर्ने, पार्टीका होनहार, कुशल तथा लोकप्रिय नेताहरू स्व. दीपेन्द्र पोखरेल र स्व. पर्शुराम सिटौलाको योगदानलाई स्मरण एवम् कदर गर्दै पार्टीलाई अगाडि बढाउने बिर्तामोड काँग्रेसलाई गुट-उपगुट, नातावाद र कृपावादबाट टाढा राखी कार्यकर्ताहरूलाई समेत अपनत्व हुने साझा चौतारी निर्माण गर्ने लगायतका मुद्दा अगाडी सारेका छन् ।

सङ्ग्रौलाको नेतृत्वले यो अभियानलाई अगाडि बढाइरहँदा कोही कसैप्रति लक्षित नभएको तथा पार्टीमा हाबी गलत प्रवृत्तिको अन्त्य गर्न, विशुद्ध सुद्धिकरण र सुदृढीकरण अभियानका लागि मात्र भएको र निर्वाचित भएपछि पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ । काँग्रेस हुनुको गर्व हरेक कार्यकर्ता, समर्थक एवम् शुभचिन्तकहरूलाई महसुस गराउने समेत प्रतिबद्धता जाहेर गरेको छ ।

सङ्ग्रौलाको समूहमा रहेका सम्पूर्ण पदाधिकारीहरू नेपाली काँग्रेस बिर्तामोड नगर कार्य समितिकालागि दक्ष तथा अनुभवी रहेको उप-सभापतिका उम्मेदवार बलराम कार्कीले जानकारी दिए । विभिन्न सञ्चार माध्यममा आएका अनर्गल प्रचारको पछाडि नलाग्न वडा सभापति साथै क्षेत्रीय प्रतिनिधीहरुलाई अनुरोध गर्दै हक्की तथा निडर स्वभावका उप-सभापति कार्कीले व्यापारीको नेतृत्व भन्दै आमसञ्चारमा आएका समाचारहरू महाअधिवेशनका प्रतिनिधीहरुलाई झुक्याउने खेल भएको समेत जानकारी दिए।

लामो समय सम्म पार्टीमा रहेर त्याग, तपस्या र बलिदान गरेको बताउँदै नेताकार्कीले भोट खरिदकालागि आफूहरूले पैसा खर्च गरेको भन्दै अफवाह फैलाउने दुष्प्रयास भएको समेत जानकारी दिए । नगरका क्रियाशील कार्यकर्ताहरूको निस्स्वार्थ अभिमतबाट आफूहरू निर्वाचित हुने विश्वास व्यक्त गर्दै नेता कार्कीले बरु आफूहरू पराजित हुन तयार रहेको तर कार्यकर्ताहरूलाई निराश हुन नदिने समेत बताए । व्यापारीहरूको समूह भनेर बाहिर नकारात्मक सल्लाह फैलिए पनि आफूहरू गर्व गर्ने बताउँदै नेता कार्कीले हरेक कार्यकताहरुले व्यवसाय गर्न आवश्यक रहेको समेत जानकारी दिए ।

उता कृष्ण प्रसाद सिटौलाको बलियो साथ पाएको भोजराज सिटौलाको प्यानलमा रहेका सभापति सिटौला सहित उप सभापतिमा सूर्य कन्दङ्वा र राजकुमार राजवंशी सचिवमा उत्तम खनाल र दिवाकर प्रसाईँ सह सचिवमा लव कुमार चौधरी र दिनेश पराजुली चुनावी मैदानमा उत्रिएका छन् ।

भावी दिनमा बलियो मजबुत, गुटरहित, व्यवस्थित र एकता बद्ध काँग्रेसको परिकल्पना, स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई अत्यधिक बहुमतका साथ निर्वाचित गराउने सुनिश्चितता, नेपाली काँग्रेसको बिर्तामोड भवन निर्माण गर्ने योजना, पार्टीमा समान सहभागिता र समावेशिताको अनुभूति दिलाइने, प्राप्त लोकतान्त्रिक गणतन्त्र र संविधानलाई मजबुत बनाउने, आम नागरिकको दुःख सुखमा साथ सहयोग गर्ने, युवा तथा खेलकुदको क्षेत्रमा विकास गर्ने लगायतका प्रतिबद्धता समेत जाहेर गरेको छ।

बिर्तामोड नगरपालिकामा सिटौलाकै नेतृत्व रहेको बखत विगतको स्थानीय निर्वाचनमा मेयरका उम्मेदवार पराजित भएको यथार्थतालाई सुधार गर्दै पार्टीको नेतृत्व निर्माण गर्ने भोजराज सिटौला प्यानलले प्रतिबद्धता जनाएको छ।

विगतको स्थानीय निर्वाचनमा नगर समितिबाट भएको कमीकमजोरीका कारण पराजय हुनुपरेको आरोप सिटौला प्यानल माथि छ । यस सन्दर्भमा नगर सभापति सिटौला तथा उप सभापति सूर्य कन्दङ्वा कपुरी न्युज सँग बोल्न चाहेनन्। विगतको स्थानीय चुनावमा ४ वडामा केही प्रतिनिधि बाहेक हार बेहोरेको बिर्तामोड काँग्रेसले पुरानो नेतृत्वको विकल्प खोजेको वडा तथा क्षेत्रीय प्रतिनिधिहरूको भनाई छ ।