सुनसरी : इटहरी उपमहानगरपालिकाले खनार बजारमा गरेको बजार अनुगमनका क्रममा म्याद गुज्रेका समान बेच्न राखेको पाइएको छ। अनुगमन टोलीले म्याद गुज्रिएका समान नष्ट गरेको छ। अनुगमन टोलीले खनार बजारका १४ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो ।

उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहित अनुगमन गरिएको हो। अनुगमनका क्रममा पाँच वटा पसलमा म्याद गुज्रिएका समान बेच्न राखेको पाइएको हो । एउटा पसलमा त तीन वर्षअघि म्याद गुज्रिसकेको समान समेत राखेको पाइएको छ।

चाउमिन मसला,मन्थन गोल्ड सुजी, मुसुरो दाल, ज्वानो, पवित्रा मकै चामल, पूर्णिमा गरम मसला, सेन्चुरी मसला, मिट मसला, गोल्ड सेवाई, बजाज अल्मोण्ड तेल, अमृत कफि चकलेट र विकेएस मसला लगायतका सामग्रीहरूमा म्याद गुज्रिएको पाइएको हो।

पाँच वटा पसलमा मूल्य सूची समेत नराखेको पाइएको छ। चार वटा पसल व्यवसाय प्रमाण पत्र विना नै सञ्चालन भएको, दुई वटा पसलको नवीकरण नभएको पाइएको अनुगमनमा गएका एक अधिकारीले बताए। अनुगमनका क्रममा व्यवसाय प्रमाण पत्र लिन, पसल नवीकरण गर्न र लेबल गरेर मात्र समान बेच्न निर्देशन दिइएको उनले बताए।

पहिलो पटक भएकाले म्याद गुज्रिएका समान नष्ट गरी त्यस्ता समान नबेच्न र छुट्टै ठाउँ बनाएर राख्न निर्देशन दिइएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले जानकारी दिए । अर्को पटक अनुगमनका क्रममा पनि म्याद गुज्रिएका समान बेच्न राखेको पाइए कानुन बमोजिम कारबाही हुने उनले बताए।

गत साल बजार अनुगमन गरिएका पसलहरूमा भने सुधार आएको पाइएको र आगामी दिनमा इटहरी उपमहानगरपालिकाले निरन्तर बजार अनुगमन गर्ने समेत उनले जानकारी दिए ।