झापा : झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन्। गाभुर एग्रो फार्म प्रा.लि. मार्फत उनीहरूले बिहीबार घटस्थापनाको शुभ साइतमा माछा बिक्री केन्द्रहरू उद्घाटन गरेका छन् ।
स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक अर्ग्यानिक जिउँदो ताजा माछा बिक्री केन्द्र बिर्ता बजारमा उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले उद्घाटन गरेका हुन्। फर्मालिन प्रयोग गरेर हप्तौँपछि नेपाल भित्र्याइएका भारतीय मरेको माछाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर किसिमका रोग लाग्न थालेको उपभोक्ताको गुनासो छ ।
उपभोक्ताको गुनासो तथा जिल्लाका माछा पालक किसानको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने गरी जिउँदो माछा बिक्री केन्द्रहरू सञ्चालनमा ल्याएको गाभुर एग्रो फार्मका अध्यक्ष अर्जुन राजवंशीले बताए । गाभुर एग्रोले मेचीनगर नगरपालिकाको काँकडभिट्टा, इटाभट्टा धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिका भित्र बिर्ता बजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्याँलडाँगीमा केन्द्रहरू सञ्चालनमा ल्याएको हो ।
११ वटै केन्द्रको एकमुष्ठ उद्घाटन बिहीबार बिर्ता बजार बिक्री केन्द्र मार्फत गरिएको हो । सरसफाइमा विशेष ध्यान दिँदै उपभोक्तालाई अर्ग्यानिक ताजा माछा खुवाउने व्यवस्थित बिक्री केन्द्र सञ्चालनमा ल्याएको गाभुर एग्रोका प्रबन्धक अभय राजवंशीले बताए । बिक्री केन्द्रमा पंघास, रहुँ, कमन कार्प, बिग हेड, पम्प्लेट,नैनीलगायतका माछा राखिएका छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        