धरान :  कोरोना महामारीले गर्दा लामो समय सम्म साङ्गीतिक कार्यक्रम नभइरहेको बेलामा गायक सविन राईले धरानको बगरकोटमा धूम मच्चाएका छन् ।

लकडाउनको कारण लामो समय देखि साङ्गीतिक कार्यक्रम नभएको खडेरीलाई तोड्दै धराने श्रोता दर्शकलाई राईले भरपुर मनोरञ्जन दिएका छन् । राईले आफ्नो टिम द फराओेको साथमा धरान १५ वगरकोट स्थित एमएच लाउन्ज एण्ड वारको हलमा लाइभ प्रस्तुति आफ्नो साङ्गीतिक प्रस्तुति दिएका हुन ।

उनले नयाँ र पुरानो गरी डेढ दर्जन आफ्नो गीतहरू प्रस्तुत गरेका थिए । सिग्नेचर सविन राई एण्ड द फराओ नेपाल टुर अन्तर्गत धरानमा भएको कार्यक्रमको टिकट कार्यक्रमको अघिल्लो दिन नै वुकिङ्ग हुनुले पनि सविन राईको क्रेज झल्किएको थियो । दुई सय ५० वटा टिकट इस्यु गरेको केही समयमा नै टिकट र एमएचको सम्पूर्ण टेबल वुकिङ्ग फुल भएको एमएचका सञ्चालक जीवन लिम्बूले बताए ।

Sabin-rai-1

सविन राईको क्रेज र लामो समय धरानमा साङ्गीतिक कार्यक्रम नभएकोले पनि टिकट तुरुन्तै बिक्री भएको लिम्बूले बताए । अत्यधिक दर्शकको उपस्थितिको कारण मेन गेट बन्द गरे पनि राईका प्रस्तुति सुरु भइसक्दा समेत प्रवेशको लागि दर्शकहरूको गेटमा घुइँचो लागेको थियो । राईको प्रस्तुति अघि देखि नै दर्शकले सविन राईको नाम लिँदै हललाई गुञ्जायमान बनाएका थिए ।

साढे आठ बजे देखि १० बजे सम्म प्रस्तुति दिएको सविन राईको हरेक प्रस्तुतिमा दर्शकले सँगै गाएर साथ दिएका थिए । राईको प्रस्तुति सके पछि पनि लामो समय दर्शकले सविन राईको नाम लिँदै हुटिङ गरेका थिए । दुई सय ५० जनाको क्षमता भएको हलमा ५ सय भन्दा बढी दर्शकको उपस्थिति रहेको थियो ।

नेपाल टुर अन्तर्गत राईको टिमले कार्तिक ५ गते शुक्रवार बिर्तामोड वाट सुरुवात गर्दै धरान आएका हुन । यस पछि ९ गते चितवन, १० गते बुटवल, १३ गते पोखरा र २७ गते काठमाडौँ प्रस्तुति दिँदै टुरको समापन हुने व्याण्का म्यानेजर विनोद लामाले जानकारी गराए । कार्यक्रममा सविन राईको प्रस्तुति अघि स्थानीय कलाकार केशव राईको प्रस्तुति रहेको थियो ।

Sabin-rai-2