धरान : उदयपुरको बेलका नगरपालिका वडा नं. ५ मा रहेको भुतिया दह प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

बेलका नगरपालिका वडा नंं ५ को वडा कार्यालयबाट करिब अढाई किलोमिटर दूरीमा रहेको यो ताल अत्यन्तै आकर्षक रहेतापनि यहाँ सोचेजस्तो पर्यटक आउन नसकेको बेलका नगरपालिका वडा नंं ५ का वडा सदस्य वीरबहादुर मगर बताउँछन् ।

बगरको बिचमा रहेका यो ताल पुग्न डेढ किलोमिटर गाडीको यात्रा र एक किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुन्छ । तालको गहिराई ३२ फिट रहेको छ । यस तालमा विभिन्न जातिका माछा भए पनि माछा मार्नेहरूले माछा मार्न नसक्ने वडा सदस्य मगर बताउँछन् ।

उनले प्रचारप्रसारको अभावमा भुतिया दह ओझेलमा परेको छ तर पनि अहिले यो पिकनिक स्पोर्ट बनेको छ दैनिक ८० देखि ९० जना सम्म मानिस यहाँ आउने गरेको उनी बताउँछन् ।

उदयपुरको बेलका नगरपालिकाले १८ वटा स्थानलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा पहिचान गरी यसको विकासमा लागेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए । १८ गन्तव्य स्थलमध्ये भुतिया दह समेत एउटा भएकोले यसको विकासमा बेला नगरपालिकाले काम सुरु गरिसकेको प्रमुख थापाले बताए ।

विगत यस स्थानसम्म पुग्न धेरै कठिन भए पनि अहिले त्यहाँसम्म पुग्न सडक निर्माण गरिएको छ । भुतिया दहमा भूतहरूले राति हाम फाल्ने र त्यहाँ नहुआउने गरेको किंवदन्ती रहेको स्थानीयवासीको भनाई छ ।

बेलकाले पर्यटनलाई दिगो विकासको रूपमा लिएर पर्यटन विकास समिति गठन गरेको छ। यसलाई सफल बनाउन पर्यटन नीति निर्माण गर्ने, पर्यटनको प्रोफाइल बनाउने र पर्यटनको गन्तव्य स्थल पहिचान गर्ने काम गरिसेको छ।

ऐतिहासिक महत्त्व बोकेको र मनोरम दृश्य हेर्न चाहनेका लागि भुतिया र भुतिया जस्ता अन्य १८ वटा गन्तव्य स्थलमा अधिक भन्दा अधिक पर्यटक भित्र्याउने र नगरपालिकाको दिगो विकास गर्ने लक्ष्य अनुरुप नगरपालिकाले कार्य गरिरहेको प्रमुख थापाले बताए ।

कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र कोरोना संक्रमणदर घटेसँगै फेरि तङ्ग्रिने तरखरमा छ। त्यसैले यी यस्ता मनमोहक पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न अत्यन्तै जरुरी छ ।

Bhutiya-Daha-1